विद्यालयभित्रै रक्सी पसल



धनवीर दाहाल, रुकुम ।
बिद्यालय एउटा पबित्र क्षेत्र हो । जहाँबाट राम्रो शिक्षा सिकेर देश चलाउन सक्ने जनशक्ति निर्माण भइरहेको छ । तर रुकुम पश्चिमका केही बिद्यालयको हाताभित्र रक्सी पसल पनि राखिएको छ भन्ने सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ ।

बिद्यालय जस्तो पबित्र क्षेत्रमा मद्यिरा पसल राख्नेलाई शिक्षासँग सरोकार राख्ने निकायले चासो नदिएको जनगुनासो सबत्र छ । रुकुम पश्चिामको चौरजाहारी नगरपालिका वडा १२ स्थित सानाखोलामा रहेको जनकल्याण माध्यमिक बिद्यालयको हाता भित्र बिद्यार्थीलाई खाजा नास्ताको क्यान्टीनको सुबिधा हुनुको सट्टा रक्सी पसल छ ।

बिगत १३ बर्षदेखी बिद्यालय परिसरमा रहि आएको रक्सी पसल बन्द गर्नका लागी अभिभावकले अनुरोध गरे पनि बिद्यालय व्यवस्थापन समिती र रक्सी पसल राखेका व्यक्तिले अटेर गरिरहेको बताइएको छ । स्थानीय ओमप्रशकाश आचार्यका अनुसार बिगत १३ बर्ष भन्दा पहिलेदेखी मद्यिरा पसल चल्दै आएको छ र त्यस समय सम्म कयौं बिद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापक पनि परिवर्तन भइसकेका छन् । तर बिद्यालय परिसरमा रहेको सो पसल बन्द गर्न कसैको चासो गएको छैन ।

केही समय बिद्यालय व्यवस्थापन समितीको अध्यक्षले समेत रक्सी पसल संचालन गरेको आचार्यले बताए । बिद्यालय समयमा मद्यिरा खाएर आउने मान्छेहरुले बाधा पुर्याइरहेको बिद्यार्थीहरुको भनाई छ । हरेक दिन बिद्यालय वरपर मद्यिराले लट्ठ परेकाहरुले हल्लाखल्ला गरेर बिद्यार्थीको पढाईमा बाधा पुर्याइरहेको अभिभावकको समेत दुखेसो छ ।

बिद्यालय परिसरमा मद्यिरा पसल नराख्न प्रहरीले पनि पटक पटक अनुरोध गर्दा समेत उनीहरुले चासो नदिएको बताइएको छ ।

जनप्रतिनिधिले समेत बिद्यालयको हाताभित्र मद्यिरा पसल गरिरहेको खुलेको छ । चौरजहारी नगरपालिका १२ का वडा सदस्य बिष्णु देवकोटा र सोही वडाका अर्का स्थानीय मनिराम के.सीले बिद्यालय परिसरमा मद्यिरा पसल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्