उपत्यकाबाट ३४ मेट्रिक टन फोहर व्यवस्थापन



पूर्णप्रसाद मिश्र, काठमाण्डौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २५६औँ हप्तामा आज थापाथली पुल क्षेत्रको नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुक्तिनाथ विकास बंैकलगायत सामाजिक संस्थाको संस्थागत सहभागिता रहेको थियो ।

सफाईमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, वाग्मती सफाइ सद्भावनादूत नायिका मनिषा कोइरालालगायत ५५० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिका पूर्वसञ्चालक समिति सदस्य नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–५ स्थित साकुरा वाटिका मुनिको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

रुद्रमती सफाइको २११औँ हप्तामा रातोपुल–गौशाला–भण्डारखाल उद्यान–जयवागेश्वरी–कालोपुल–ज्ञानेश्वर हुँदै आनन्द भैरव मन्दिरसम्म जनचेतनामूलक सफाइ गरियो । यसैगरी सिफलस्थित भण्डारखाल उद्यान परिसरमा पनि विशेष सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।

सफाइपछि आनन्दभैरव मन्दिर परिसरमा आयोजित कार्यक्रममा सांसद गगनकुमार थापाले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न माग गर्नुभयो । सरसफाइ वर्ष घोषणालाई सहयोग पु¥याउन वैशाख १ गते ज्ञानेश्वर ओरालोदेखि चावहिल चोकसम्म जनचेतनामूलक सरसफाइ ¥याली आयोजना गरिएको उहाँले सुनाउनुभयो ।

सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत अभियन्ताको पनि उपस्थिति थियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाको सक्रियता थियो । वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १६१औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरियो । नदीमा वाग्मती सौन्दर्यीकरणको कार्य भइरहेकाले जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो ।

मनोहरा नदी सफाइको ५५औँ हप्तामा महानगरपालिका–३२ स्थित जडीबुटी क्षेत्रको किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्रप्रसाद दंगालले जानकारी दिनुभयो । सफाइमा १०० भन्दा बढी अभियन्ताको सक्रियता थियो । चक्रपथ सफाइको ५२औँ हप्तामा आज रुद्रमती पुलबाट चावहिलचोकसम्म सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

सफाइमा तीनवटै सुरक्षा निकाय, ग्रिन सिटी अस्पताल, नेप्से म्याक प्रालि लगायतको संस्थागत सहभागितासहित ४५० अभियन्ताको सक्रियता थियो । सफाइका क्रममा सडक दायाँबायाँ किनारमा थुपारिएको माटोको ढिस्को डोजर लगाएर भत्काइयो । सफाइमा महानगरपालिका–७ का अध्यक्ष शुद्धकुमार डंगोलको पनि सहभागिता थियो । मीनभवन क्षेत्रको आलोकनगर सफाइको ५२औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ बाफल खण्ड सफाइको ३४औँ हप्तामा कलंकी चोक क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो । सफाइका क्रममा मोबाइलमा रिचार्ज गरेर फालिएका र सुर्तीको खोल बढी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्