पाइपलाइनबाट पहिलो चरणमा डिजेलमात्रै आयात गरिने



दीपेन्द्र थापा, काठमाडौं

बहुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट पहिलो चरणमा डिजेलमात्रै आयात हुने भएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमध्येमा डिजेलको माग हाल बजारमा उच्च रहेकाले डिजेलको मागलाई सम्बोधन गर्नको लागि पाइपलाइनबाट डिजेल आयात गर्न लागिएको निगमले जनाएको छ।

परियोजनाले तीव्रता पाइरहेको बेला सबैभन्दा बढी बजार माग रहेको डिजेललाई नै पेट्रोलियम पाइपलाइनबाट आयात गर्ने योजना रहेको नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो। ‘हाल ठूलो मात्रमा पेट्रोलियम पदार्थमा पनि डिजेलमा धेरै खपत भइरहेकाले गर्दा हामीले डिजेल आयात गर्ने योजना गरेका छौं,’ भट्टराईले भन्नुभयो– ‘जसले गर्दा ठूलो मात्रमा ढुवानीवापत् खर्च हुने वार्षिक करिब १ अर्ब रुपियाँ बचत हुने छ’

दैनिकरूपमा नेपालभर ५५ सय किलोलिटर डिजेल माग हँदै आएको छ भने पेट्रोलमा भने दैनिक १५ सय किलोलिटर माग हँुदै आएकोे छ। मासिकरूपमा हेर्ने हो भने डिजेल १ हजार ४१ किलोलिटरसम्म खपत हुने गरेको छ भने पेट्रोल भने करिब ४० हजार किलोलिटर यो तथ्याङ्कलाई सम्बोधन गर्नको लागि पनि तत्काललाई निगमले डिजेल आयात गर्न लागिएको प्रमुख भट्टराईको भनाइ छ।

पेट्रोलियम पाइपलाइनबाट हाल नेपाली बजारमा रहेको मागलाई धान्ने ७० प्रतिशतदेखि ८० प्रतिशत मात्र आयात गर्न सकिने बताइएको छ।अरू पेट्रोलियम पदार्थ भने अन्य नाकाबाट आयात गर्नेछ। पाइपलाइनबाट पेट्रोल, ग्यास, मट्टितेल हवाई इन्धन भने ट्यांक, ट्रकबाट नै निरन्तर आयात हुने भट्टराईले बताउनुभयो।

बरेली नाकाबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ भने अब मोतिहारीमानै आईओसीले ढिपो निर्माणसँगै सोही स्थानबाट आयात गर्ने छ। भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुने छ।

यसरी हेर्दा हालको मागलाई धँन्नको लागि पेट्रोलियम पाइपलाइनलाई १९ घण्टा चलाउनेपर्ने हुन्छ। तर, प्राविधिक र अन्य हिसाबले पनि पाइपलाइन सो समयसम्म सञ्चालन गर्नको लागि भने निगमलाई चुनौती रहेको छ। प्रारम्भिक चरणमा ८ घण्टा पाइपलाइन सञ्चालन गर्न तयारी गरेको भए पनि माग अनुसार पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने भएकाले मागलाई सम्बोधन गर्नको लागि निगमलाई चुनौती हुने देखिन्छ।

पेट्रोलियम पदार्थमा हाल सबैभन्दा बढी राजधानीमा खपत हँदै आएको छ। राजधानीमा मात्रै १० लाख सवारी साधन दैनिक सञ्चालन हुने अनुमान रहेको छ। राजधानीमा १ हजार किलोलिटर डिजेल र ७ सय किलोलिटर पेट्रोलको माग रहेको छ। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिक इन्जिनियर सरोजप्रसाद पौडेलका अनुसार हालसम्म ३६ किलोमिटरनै पाइप आएको र बाँकी अरू साना ठूला पाइप आउने क्रममा रहेको बताउनुभयो।

उहाँका अनुसार हालसम्म करिब ३ किलोमिटर पाइप जोड्ने काम भइसकेको र पाइपको रेडियो ग्राफिक टेस्टको (एक्से–रे) काम पनि सँगै भइरहेको पौडेलले बताउनुभयो। यसरी पाइपको रेडियोग्राफी टेस्टको रिपोर्ट भने भारतीय आयल निगम (आईओसी) मा जानेछ। आईओसीले रिपोर्ट आएपछि भने पाइप बिच्छाउने काम शुरू हुने निगमले जनाएको छ।

काम शरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने पौडेलको दाबी छ। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरू भएको २ वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हँुदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो।

पेट्रोलियम पाइपलाइनको शिलान्यास हुँदै

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको शनिबार शिलान्यास गर्दै हुनुहुन्छ। दुवै प्रधानमन्त्रीले दिल्लीबाट रिमोटमार्फत् परियोजना उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भारतीय आयल निगमले १५ किलोमिटर पाइप बिच्छ्याउन तयार परिसकेको छ । मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज भने ३६ दशमलव २८ किलोमिटर रहेको छ।

परियोजनाको शिलान्यासको तयारी गर्न कालागि परियोजना प्रमुख प्रदीप यादव, इन्जिनियरद्वय सरोज पौडेल र प्रनिस थापा परियोजनास्थल पुगेका छन्। पटनाबाट भारतले विस्तार गर्न लागेको परियोजनमा मोतिहारीमा भण्डारण ढिपोसमेत निर्माण हुँदैछ। शिलान्याससँगै परियोजनाले एक वर्षभित्र पूर्णता पाउने दाबी गरिएको छ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। यसमध्ये ७५ प्रतिशत लगानी आईओसी र बाँकी २५ प्रतिशत लगानी नेपाल आयल निगमले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्