ब्राजिलले जित्दा अर्जेन्टिनाको लज्जास्पद हार



लन्डन, (एजेन्सी)
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले नेयमारबिना नै जर्मनीलाई हराउँदा अर्जेन्टिनाले भने लियोनल मेसीको अनुपस्थितिमा लाजमर्दो नतिजा आत्मसात गर्नुपरेको छ।

मंगलबार राति बर्लिनमा ब्राजिलले जर्मनीलाई १–० ले हराउँदा अर्को दक्षिण अमेरिकी फुटबल पावर हाउस अर्जेन्टिना भने स्पेनसँग ६–१ को फराकिलो गोलअन्तरले पराजित भयो। आसन्न विश्वकप तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा ब्राजिलले गत विश्वकप विजेता जर्मनीलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो। ब्राजिलमै सम्पन्न विश्वकपमा जर्मनीसँग ७–१ को भारी गोलअन्तरले हारेपछि ब्राजिलले ४ वर्षपछि पहिलोपटक जर्मनीसँग खेलेर जित हात पारेको थियो।
चोटका कारण नेयमारबिना उत्रेको ब्राजिलका लागि ग्याब्रियल जिससले ३७औं मिनेटमा गरेको गोल नै निर्णायक साबित बनेको थियो। दोस्रो हाफमा जर्मनीले गोल फर्काउन भरमग्दुर प्रयास गरे पनि राम्रो फिनिसिङ हुन नसकेपछि हार बेहोर्न बाध्य भएको थियो।

इटाली र इंग्ल्यान्ड बराबरी
मंगलबार राति नै भएको अर्को खेलमा इटाली र इङ्ल्यान्ड १–१ गोलको बराबरी रोकिए। इङ्ल्यान्डका लागि २६औं मिनेटमा जेमी भार्डीले पहिलो गोल गरे पनि इटालीका लोरेन्जो इन्सीग्नेले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरी टुंग्याउन सफल भए। यस्तै क्लियन बाप्पेको २ गोल र पाउल पोग्बाको सुन्दर फ्रि–किक गोलमार्फत फ्रान्सले रुसलाई ३–१ ले हरायो। रुसका लागि ६८औं मिनेटमा फ्योदोर स्मोलोभले सान्त्वना गोल फर्काएका थिए।

 

प्रतिक्रिया दिनुहोस्