शक्तिबहादुर बस्नेत- मासासी ओगावा भेट



काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री बस्नेतले जापान सरकारले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि असल साझेदारका रुपमा सहयोग गर्दै आएकोमा उच्च प्रशंसा गर्नुभयो ।

आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दै मन्त्री बस्नेतले जनस्तरमा समेत जापान नेपालको असल मित्र भएको उल्लेख गर्नुभयो । नेपाल लामो राजनीतिक अस्थिरताको दुस्चक्रबाट भर्खरमात्र मुक्त भएको बताउँदै मन्त्री बस्नेतले सरकारको अबको ध्यान शान्ति, स्थिरता र विकास भएको स्पष्ट गर्नुभयो ।

मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले युवाको सक्रिय सहभागितामा वन वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने र वनलाई उद्यमशीलतासँग जोड्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने नीतिका साथ सरकार अघि बढेको जनाउनुभयो ।

सो अवसरमा राजदूत ओगावाले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकालको सफलताको शुभकामना दिँदै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजदूत ओगावाले राजनीतिक अस्थिरता अन्त्यसँगै नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा प्रवेश गरेको र वर्तमान सरकारले अघि सारेको विकास र समृद्धिको योजनामा जापानले सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

राजदूत ओगावाले चुरे संरक्षण र तराई– मधेसमा वर्षायाममा हेरक वर्ष आउने बाढी पहिरोका कारण हुने गरेको धनजनको क्षति रोक्ने कार्यमा जापान सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो । भेटमा राजदूतले मन्त्री बस्नेतलाई जापान भ्रमणको निमन्त्रणा दिनुभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्