सुनौलो संगम सेमिफाइनलमा



यमलाल भुसाल, बुटवल

तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा एपीएफ क्लबलाई स्तब्ध पार्दै सुनौलो संगम युवा क्लब सेमिफाइलनमा प्रवेश गरेको छ।

मंगलबार बुटवलको मानविज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन सुनौलो संगमले पेनाल्टीमा विभागीय टोलीको यात्रा रोकेको हो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा पनि गोल हुन नसक्दा पेनाल्टी सुटआउटमा निर्णय गरिएको थियो। एपीएफका मिलन राई र रवि थान्जुङ्को प्रहार बाहिरिँदा रमेश दंगलको प्रहारलाई गोलकिपरले विफल तुल्याएपछि सुनौलो संगम अन्तिम चारमा पुगेको थियो।

घरेलु टोली सुनौलो संगमका लागि अजित थापा र पूर्णबहादुर गुरुङको प्रहारलाई विपक्षि किप्परले विफल तुल्याए पनि सुरज हमाल, जनक कार्की र आशिष गुरुङले गोल गरेका थिए। पहिलो हाफ सकिन एक मिनेट बँँकी रहँदा एपिएफका युवराज खड्काले विपक्षीका गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाएर टोलीलाई अग्रता दिलाएका थिए।

तर ५१औं मिनेटमा सुनौलो संगमका अमृत गुरुङ्ले गरेको प्रहार गोलकिपरको हातबाट फुत्कीएर गोल भएको थियो। ६७औं मिनेटमा युवराज खड्काले आकर्षक गोल गरेर एपीएफलाई २–१ को अग्रतामा ल्याएका थिए। खेलको ७४ औं मिनेटमा सुनौलो संगमका मनदीप थापालाई डिवक्समा लडाएपछि पाएको पेनाल्टीको अवसरलाई आशिष गुरुङ्को प्रहारले जाली चुमेपछि खेल बराबरीमा पुगेको थियो। जितसंगै सुनौलो संगमका नितिन थापा म्यान अफ द म्याच घोषित भई १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्