संसद् र राष्ट्रपति भवनसामु विस्फोट



मोगादिसु, (एजेन्सी)
सोमालियाको राजधानी मोगादिसुस्थित संसद् भवन र गृह मन्त्रालयनजिकको एउटा जाँच चौकीमा आइतबार एक जनाले आत्मघाती कार बम विस्फोट गराउँदा तीन जनाको ज्यान गएको एम्बुलेन्स सेवाले जनाएको छ।

मोगादिसुका प्रहरी अधिकारी नुर मोहमदले एकदमै कडा सुरक्षा प्रबन्ध रहेको सायिदका जाँचचौकीमा सो विस्फोट भएको रोयटर्सलाई जानकारी गराएका छन्। आमिन एम्बुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले यस आक्रमणमा आक्रमणकारी युवकको पनि ज्यान गएको तथा अन्य एक जना गम्भीर घाइते भएको बताएका छन्।

अन्तर्राष्ट्रिय आतंककारी समूह अल कायदासँग आबद्ध अल सबाब समूहले यस घटनाको औपचारिक जिम्मेवारी लिएका छन्। सोमालियाको पश्चिम समर्थित संघीय सरकारलाई अपदस्थ गर्ने उद्देश्यले अल सबाबले बारम्बार मोगादिसुमा बम आक्रमण गर्ने गरेको छ।

अल सबाबको सैनिक विभागका प्रवक्ता अब्दियासिस अबु मुसाबले गृह मन्त्रालय, राष्ट्रपति र संसद् भवननजिकै आक्रमण गरी सरकारमाथि प्रत्यक्ष दबाब दिन खोजेको बताएका छन्। साथै उनले यस घटनामा १३ जना सरकारी सैनिक मारिएको पनि दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्