एमाले माओवादी कार्यदल प्रतिवेदन आउँदै, आधा–आधा हिस्साले अर्को लफडा शुरू



मधुसूदन रायमाझी, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्दा आधा/आधा गर्नुपर्ने बहस चर्किएको छ। एमालेले संगठनको आधारमा पार्टी एकता गर्नुपर्ने अडान अगाडि सारेको छ भने माओवादी पार्टी एकता नै हुने भएपछि आधा/आधा हुनुपर्ने अडान राखेको छ।

पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित कार्यदलमा सांगठनिक विषयमा ६०/४० कै आधारमा पार्टी एकता गर्नुपर्नेमा एमालेले जोड दिएको माओवादी केन्द्रका एक नेताले बताए। ती नेताले भने– ‘समानताको आधार पार्टी एकता हुने हो, निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँडमा गरेजस्तो गरी पार्टी एकता गर्दा राम्रो सन्देश जाँदैन।’

६०÷४० कै आधारमा पार्टी एकता गर्ने प्रस्ताव एमालेले अगाडि सारे पनि माओवादी केन्द्रले भने बराबरीको संख्यामा पार्टी एकता हुनुपर्ने अडान लिएको बताइएको छ। जसको कारण केन्द्रीय सदस्यको संख्या कत्रो बनाउने भन्ने विषयमा समेत दुई पार्टीबीच सहमति जुट्न नसकेको बताइएको छ।

वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापनाको दिन पारेर पार्टी एकताको घोषणा गर्ने तयारी गरे पनि एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पार्टीबीच एकता गरेर ठूलो पार्टीको अध्यक्षको हैसियतमा भारत भ्रमणमा जाने तयारी गर्नुभएको छ। भारत भ्रमणअघि नै पार्टी एकता गर्ने प्रस्ताव स्वयम् अध्यक्ष ओलीले नै राख्नुलाई अर्थपूर्णरूपमा लिइएको छ।

पार्टी एकताका लागि गठित कार्यदलले गृहकार्य गरिरहेको बेला हतार हतारमै पार्टी एकता गर्ने प्रक्रियाले महत्व पाएको छ। एमाले र माओवादी केन्द्रको बैठकले पार्टी एकता भारत भ्रमणअघि नै गर्ने निर्णय गरिसकेको छ। तर केन्द्रीय समितिको संख्या कति जनाको बनाउने भन्ने विषयमा भने अन्योल र असहमति कायमै रहेको एमालेका एक नेताले बताए। ती नेताले भने– ‘एकता प्रक्रिया टुंगोमा पुर्याउन काम अझै बाँकी नै छ, फेरि भारत भ्रमणअघि नै पार्टी एकताको विषयले महत्व पाएको छ।

केही साता ढिलो भए पनि सांगठनिक र वैचारिक विषयमा अझै छलफलको आवश्यकता छ।’ केही दिनभित्र नै पार्टी एकताका लागि गठित सांगठनिक, वैचारिक कार्यदलले पार्टी एकता संयोजक समितिमा आफ्नो प्रतिवेदन बुझाउने गृहकार्य गरेको छ।

एमालेले ४ लाख ७७ हजार संगठित सदस्य रहेको दाबी गरेको छ भने माओवादी केन्द्रले साढे ३ लाख संगठित सदस्य रहेको दाबी गरेको छ। माओवादी केन्द्रको भन्दा एमालेको १ लाख २७ हजार बढी संगठित सदस्यता रहको छ।

नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पार्टीको संगठित सदस्यता ४ लाख ७७ हजार रहेको बताउनुभयो। उहाँले पार्टीमा संगठित सदस्यको संख्या योभन्दा पनि बढ्न सक्ने बताउनुभयो। दुवै पार्टीभित्र संगठित सदस्यको बारेमा तथ्याङ्गतरूपमा छलफल भएको बताइएको छ। एमालेको संगठित सदस्यता व्यवस्थित भए पनि माओवादी केन्द्रभित्र पार्टी विभाजन र पार्टी एकताको शृंखला चल्दै आएकाले व्यवस्थित नरहेको बताइएको छ।

माओवादी केन्द्रीय कार्यालयका एक नेताले नेपाल समाचारपत्रसँग भने– ‘शुरूमा पार्टी विभाजन हुनुअघि पार्टीको संगठित सदस्य ४ लाख हो, अहिले विभिन्न समयमा पार्टी विभाजन र एकता हुँदा संगठित सदस्यताको संख्या साढे ३ लाख हो।’

तर माओवादी केन्द्रले पार्टी सदस्यता संख्याका बारेमा जिल्ला जिल्लाबाट तथ्याङ्क संकलन गरेर थप अद्यावधिक गर्ने काम गरिरहेको बताइएको छ। अब बस्ने माओवादी केन्द्रीय कार्यालयको बैठकले पार्टीको संगठित सदस्यका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पार्टीको संगठित सदस्यका बारेमा केन्द्रीय कार्यालयसँग बुझेर मात्र जवाफ दिन सक्ने बताउनुभयो।

एमालेले ४ लाख ७७ हजार संगठित सदस्य रहेको दाबी गरेको छ भने माओवादी केन्द्रमा साढे ३ लाख संगठित सदस्य रहेको दाबी छ।

प्रतिक्रिया दिनुहोस्