पुनर्निर्माणमा काठको अभाव



काठमाडौं, (नेस)
पुरातत्त्व विभागले समयमा नै ठेकेदार कम्पनीलाई काठ उपलब्ध गराउन नसक्दा सम्पदा पुनर्निर्माण अलपत्र परेको छ।

काठ अभावका कारण पुनर्निर्माण रोकिएको पछिल्लो उदाहरण त्रिपुरेश्वरको कालमोचनघाट परिसरमा रहेको नारायण मन्दिर हो। सो मन्दिर पुनर्निर्माण गर्न काठ अभाव भएको बताइएको छ।

त्यस्तै देशका विभिन्न सम्पदा पुनर्निर्माण गर्न काठ अभाव भएको पुरातत्त्व विभागले स्वीकार गरेको छ। विभागका महानिर्देशक भेषनारायण दाहालले छोटोभन्दा पनि लामो काठ अभावका कारण पुनर्निर्माणमा समस्या परेको बताउनुहन्छ। उहाँ भन्नुहन्छ– ‘काठ अभावले गर्दा सबै सम्पदा पुनर्निर्माणमा पूर्णरूपमा ठप्प भएको होइन, केही स्थानमा काम रोकिएको हो।’

सरकारी तथ्यांकअनुसार २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका सम्पदा पुनर्निर्माण गर्न करिब ८ लाख क्युफिट काठ आवश्यकता पर्छ। तीमध्ये विभागले ठेकेदारलाई न्यून मात्रामा मात्र काठ उपलब्ध गराउँदै आएको छ।

पछिल्लो समयमा द टिम्बर अफ कर्पोरेसन र पुरातत्त्व विभागबीच कुरा मिल्न नसक्दा काठ अभावका कारण सम्पदाहरू पुनर्निर्माण हुन सकेका छैनन्।

टिम्बर कर्पोरेसनले करिब ३ साताअघि पुरातत्त्व विभागलाई पत्र पठाएर कति काठ आवश्यकता पर्छ सोहीअनुसार माग गर्न आग्रह गरेको थियो। तर, विभागले हालसम्म त्यसको जवाफ पठाएको छैन।

द टिम्बर अफ कर्पोरेसनका महाप्रबन्धक राजु लौडारीले विभाग र सम्बन्धित निकायलाई पटक–पटक पत्र पठाउँदासमेत बेवास्ता गरेको आरोप लगाउनुभयो।

कर्पोरेसनले जेठ १५ गतेभित्र काठ काटिसक्नुपर्ने भएकाले परिमाण माग गर्दै पठाएको पत्रलाई विभागले बेवास्ता गरेको हो। ‘हामीले पठाएको पत्रको हालसम्म कुनै जवाफ आएको छैन। बैठक बसेर निर्णय गर्छौं भन्छन्। बैठक बसेर पत्र पठाएको हामीलाई कुनै जानकारी नै छैन।’ –महाप्रबन्धक लौडारीले भन्नुभयो। तर, विभागले भने काठको मागसँगै रकम उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्थाका कारण समस्या भएको जनाएको छ।

विभागका महाप्रबन्धक दाहालले क्याबिनेटले काठ उपलब्ध गराउन निर्देशन दिएपछि पुनः कर्पोरेसनलाई पत्र पठाउन आवश्यक नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी काठको माग गर्छौं, टिम्बरले काठ उपलब्ध गराएपछि ठेकेदारले भुक्तानी दिइहाल्छ नि। यसमा लफडा गर्नु आवश्यक छैन।’ काठको अभावका कारण सम्पदा पुनर्निर्माणमा गम्भीर समस्या भइरहेको अवस्थामा २ सरकारी निकाय भने जुहारी खेल्नै व्यस्त देखिन्छन्। कर्पोरेसनले काठको माग पेस गर्न विभागलाई पठाएको व्यहोराको पत्र वन विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाएको छ।

काठ नभएर होइन विभागले माग नगरेका कारण कति काठ काट्ने भन्ने समस्यामा कर्पोरेसन रहेको छ। विभाग आफैंले काठ अभावका कारण सम्पदा पुनर्निर्माण गर्न समस्या रहेको बताए पनि कर्पोरेसनसँग काठको परिमाण माग गर्न सकेको छैन।

विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले काठ आभावका कारण पुनर्निर्माणमा समस्या परेको बताउँदै यस विषयमा कर्पोरेसनसँग कुराकानी भइरहेको बताउनुभयो। कर्पोरेसनका महाप्रबन्धक लौडारीले भने समयमै काठको माग नगरे उपलब्ध गराउन समस्या पर्ने बताउनुभयो।
उहाँले भन्नुभयो– ‘जेठ १५ पछि काठ कटान गर्न मिल्दैन, जेठअघि नै माग गर्नुपर्छ।’ उहाँले भूकम्पपीडित परिवारलाई भने नियमितरूपमा काठ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्