प्रदेश सांसदलाई किस्तामा घडेरी



नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरूले पाउने सुविधा थपिँदै गएको छ। सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ।

प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरूले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन्। प्रदेश सांसदहरूलाई बस्न भाडाको घर खोज्नुनपर्ने गरी काम थालिएको छ। यहाँका सरकारी घरमा सांसदहरूलाई राख्ने गरी तयारी यसै उहाँहरूलाई सहुलियतमा घडेरी उपलब्ध गराउने निर्णय शुक्रबार भएको छ।

सांसदहरूलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो। हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रूपमा दिने सर्वदलीय निर्णय गरिएको छ।

उपमहानगर मेयर हरिबहादुर महतको प्रस्तावमा सांसदहरूलाई घडेरी दिने निर्णय भएको हो। हेटौंडा–८, कमानेमा रहेको सात बिगाहा जग्गामध्ये प्रदेश सांसदहरूलाई सहुलियत दरमा घडेरी दिने निर्णय भएको छ। यस्तो सुविधा मकवानपुरका ६ जना प्रदेश सांसदलाई भने दिइनेछैन।

मकवानपुरबाहेकका प्रदेश सांसदहरूलाई दश धुरका दरले घडेरी दिइने बताउँदै मेयर महत भन्नुहुन्छ– ‘प्रदेश सांसदहरूलाई बस्न सरकारी जग्गामा बनेका घर उपलब्ध गराउने भनेका छौं।’

घडेरी किनेबापत्को रकम प्रदेश सांसदहरूले पाँच वर्षसम्ममा भुक्तानी गरे हुनेछ। सांसदहरूले किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तानी गरे हुने भएको छ। सांसदले आफूले पाउने मासिक रकमबाट किस्ताबन्दीमा रकम उपलब्ध गराउनुपर्ने र पाँच वर्षभित्र पूरै भुक्तानी गर्न मिल्ने गरी सर्वदलीय निर्णय गरिएको छ।
नगर विकासको स्वामित्वमा रहेको हेटौंडाको हुप्रचौर र कमाने क्षेत्रमा जग्गा प्लटिङ गरेर सर्वसाधारणलाई बढाबढमा सयौं घडेरी बिक्री गरिएको थियो। आफ्नै स्वामित्वमा रहेको जग्गा बिक्री गर्न कानुनी बाधा हुने नभएपछि उपमहानगर यस्तो निर्णयमा पुगेको हो।

देशका अन्य ६ वटा प्रदेश र प्रतिनिधिसभाका सदस्यलाई घर भाडामा लिएर बस्नुपर्ने बाध्यता भइरहेको समयमा हेटौंडामा भने प्रदेश सांसदलाई भाडाको घरमा बस्नुनपर्ने गरी सरकारी क्वार्टर व्यवस्था गर्ने गरी कामको थालनी गरिएको हो।

प्रतिनिधिसभा सांसद् र ६ वटा प्रदेशका सांसद्हरू राजधानीमा कोठा खोज्दै भौतारिँदै छन्। तर, हेटौंडामा भने सरकारी संरचना धेरै भएकाले सांसद्हरूलाई सरकारी घरमा राख्न सजिलो भएको हो। हेटौंडामा रहेका एक दर्जन बढी सरकारी संरचनामा प्रदेश सांसद्हरूलाई बस्ने गरी व्यवस्था गर्न लागिएको मेयर महतले बताउनुभयो। प्रदेशका मन्त्री, सचिवहरूलाई राख्न यहाँका विभिन्न सरकारी संरचनामा क्वार्टर तयार भइसकेका छन्।

प्रदेशका १ सय १० सांसद्मध्ये १० जना मन्त्री बन्छन्। ६ जना मकवानपुरका छन्। सिमाना जोडिएको चितवनका ६ जना सांसद् छन्। उहाँहरू बाहेक ९० जना सांसद्लाई सरकारी भवनमा राख्न सकिने गरी ब्यवस्था गर्न नगरपालिका लागिपरेको छ।

नगर विकास समिति अध्यक्ष राजीव सुवेदीको अध्यक्षतामा बसेको बैठकमा हेटौंडा उपमहानगर उपमेयर मीना लामा, नेकपा एमाले मकवानपुर उपाध्यक्ष बद्री लम्साल, माओवादी केन्द्र मकवानपुर नेता कमानसिंह पाख्रिन, नेपाली कांग्रेस मकवानपुर पूर्वसभापति रामचन्द्र अर्याल माइकल, कांग्रेस जिल्ला सचिव बुद्ध लामा, सरकारी कार्यालय प्रमुखहरू लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्