इक्यानद्धारा इक्यान वृहत शैक्षिक मेला आयोजना हुँदै



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले १३ औ इक्यान बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । यही असार २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलामा विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श दिइने भएको छ ।मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुहरुको समेत सहभागिता रहने भएको छ । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका करिब तीन दर्जन भन्दा बढी कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुनेछ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले जानकारी दिनुभयो ।

इक्यानले हिजो सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने र प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको पनि ब्यवस्था गरिने जानकारी गराउनुभयो । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्टस प्रालिको व्यवस्थापनमा हुने मेलामा मेलाको पे्रजेन्टरको रुपमा व्रिटिस काउन्सिल रहेको छ । मेला संयोजक एवं इक्यानका सचिव दीपक भुषालले मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन सकिने बताउनुभयो ।

मेलामा करिब ४ सयको स्टल रहने इक्यानले जनाएको छ । मेलालाई हाइटक बनाउन मेला क्षेत्रमा डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुनेछ । प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सो को व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क वससेवाको व्यवस्था हुनेछ । मेलामा करिब एक लाखले अवलोकन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । संयोजक भुषालले शैक्षिक परामर्शदाता, विदेशी शैक्षिक संस्था, पार्टनर बैंक, एयरलाइन्स, ट्राभल एण्ड टुरिज्म पार्टनर लगायतको पनि सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भईसकेको जानकारी गराउनुभयो । उता अध्यक्ष पाण्डेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रोक्का गरेको नो अब्जेक्सन लेटर खुला गर्नुपर्ने बताउनुभयो । नो अब्जेक्सन लेटर रोक्का गरेको कारण जापान अध्ययन गर्ने तयारीमा रहेका सयौ विद्यार्थीलाई गम्भीर समस्या परेको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्