कति खन्चुवा सांसद



‘आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन…’ कुनै बेलाको चल्तीको यो गीतले मायालु जोडीलाई निकै ऊर्जा दिन्थ्यो । सो गीत अहिलेका मायालु जोडीलाई छेउ टुप्पो थाहा नभए पनि उनका बाआमाले पक्कै सुन्या छन् । सो गीत अहिलेका सांसद र मन्त्रीका सन्दर्भमा भने साह्रै मेल खान्छ ।

हैन भने विचार गरौं त, सांसदलाई आफूखुसी खर्च गर्ने बजेट दिनुहुन्न, सोझै भ्रष्टाचार हुन्छ भन्ने चर्को विरोध भइरहँदा पनि ६ करोड बजेट पाउने सांसदलाई कुनै आँधी र बाढीले छेक्यो त ? अर्थमन्त्री खतिवडाले ल है तथास्तु, भन्दै सांसदको माग पूरा गरे ।

६ करोड बजेट पाएका अनि निर्वाचन क्षेत्र घुम्न जाने, कार्यकर्तासँग भेटघाट गर्न जाने शीर्षकको तलबभत्ता पनि खाँदै पाउँदै आएका सांसद अब त मस्त अघाए होला भन्या त निकै भोका पो रै’छन् । हुँदाहुँदा प्रदेशले पनि पैसा दिने भयो । अनि फेरि ल्यापटप चाहियो रे । ल्यापटप पनि चानेचुने हो र, पूरै लाख रुपियाँको । अब कुन दिनदेखि ल्यापटप, ईमेल, इन्टरनेट चलाउन सिकाउने मास्टर चाहिएला । अनि मास्टरलाई फेरि राज्यले तलब खुवाउनुपर्ने होला ।

सांसदको माग पनि उनका छोराछोरी, नातिनातिनाले ग¥या डिमान्डभन्दा फरक छैन । कहिले यो चाहियो भन्या छ, कहिले ऊ चाहियो भन्या छ । जनताको माग सम्बोधन गर्न नभ्याएनि ५ वर्षको अवधिमा सरकारले सांसदको मागचाहिँ पूरा गर्न भ्याउँछ कि ?

प्रतिक्रिया दिनुहोस्