प्रहरीलाई थप ६ स्वर्ण



काठमाडौं, नेस
नेपाल प्रहरीले गौतम बुद्ध ४८औं राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन आइतबार थप ६ स्वर्ण जितेको छ। अघिल्लो दिन ४ स्वर्ण जितेको प्रहरीको कूल स्वर्ण संख्या १० पुगेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन्।

बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा प्रहरीका सोनाम लामाले स्वर्ण जिते। उनले फाइनलमा त्रिभूवन आर्मी क्लबका रोशन बलामीलाई पराजित गरे। ६० केजीमा प्रहरीका रविन्द्र कार्की पहिलो भए। उपाधि भिडन्तमा रविन्द्रले मध्यमाञ्चलका राजकुमार रसाइलीलाई हराए। ६७ केजीमा मध्यपश्चिमाञ्चलका प्रकाश घर्ती च्याम्पियन बने। उनले पश्चिमाञ्चलका चन्द्र बुढालाई पाखा लगाए। आयोजकका निरन्जन खड्कालाई निराश पार्दै प्रहरीका गंगाराम कुसुवारले ७५ केजीमा पहिलो स्थान कब्जा गरे। ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठ पहिलो भए। उनले आर्मीका सुरज थारुको चुनौति समाप्त पारे।

महिलाको ५० केजीमा आर्मीकी मिस्ली श्रेष्ठले फाइनलमा पूर्वाञ्चलकी जिना सुब्बालाई पन्छाउँदै शीर्षस्थान हात पारिन्। ५५ केजीमा प्रहरीकी मल्लिका थापा पहिलो भइन्। मल्लिकाले एपीएफकी सुस्मिता वाइबालाई हराइन्। ६१ केजीमा च्याम्पियन बन्ने क्रममा प्रहरीकी सुनीता महर्जनले आर्मीकी सुक्मित राईलाई पाखा लगाइन्। प्रहरीकी कोपिला विष्ट विरुद्धको फाइनलमा विजयी हुँदै आर्मीकी विभूषा थापाले ६८ केजीको स्वर्ण आफ्नो नाममा लेखाइन्।

प्रतिक्रिया दिनुहोस्