संसद् अधिवेशनका लागि पत्र आयो



काठमाडौं, (नेस)
बजेट अधिवेशन भनेर चिनिने संघीय संसद्को चौथो अधिवेशन आगामी वैशाख १६ गतेबाट बस्ने गरी बोलाइएकोमा राष्ट्रपति कार्यालयबाट बैठक आह्वानसम्बन्धी पत्र आइतबार आएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाका सहसचिव वंशीराज पौडेलले संघीय संसद् सचिवालयले बैठकको तयारी गरिरहेको जानाकारी दिनुभयो ।
अघिल्लो वर्षको तुलनामा यो बजेट अधिवेशन यसपालि १ साताअघि नै बोलाइएको छ । गत वर्ष वैशाख २३ गतेबाट मात्र बजेट अधिवेशन शुरु भएको थियो । यो अधिवेशनको शुरुमा प्रि–बजेट छलफल हुनेछ । जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक वाध्यता छ ।

२०७४ फागुन २१ गते सुरु पहिलो अधिवेशन चैत्र २० गतेसम्म र २०७५ वैशाख २३ गतेबाट सुरु दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो । पौष ११ गतेबाट सुरु भएको तेस्रो अधिवेशन चैत्र १० गते राति १२ बजेबाट अन्त्य भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । बैठकको पहिलो दिन विभिन्न दलका नेताले सम्बोधन गर्ने प्रचलन छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा रहेका छन् । अहिलेसम्म दुवै सभाको अधिवेशन एकैदिन सुरु भएर एकै दिन अन्त्य हुँदै आएको छ ।
बजेट अधिवेशन भनेर चिनिने यो अधिवेशनमा मिडिया काउन्सिललगायतका विधेयकसमेत दर्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्