नेकपा सचिवालय बैठक: ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगाे



मधुसूदन रायमाझी, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकता भएको ११ महिनापछि ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक विवादले लामो समयसम्म लम्बिँदै आएको सांगठनिक एकताअन्तर्गत नेकपाले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नाममा सहमति जुटाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा टुंगो लगाएको नाममा सचिवालयका सदस्यहरुले सहमति जनाएका थिए । तर सचिवालयका सदस्यहरुले भने पार्टीले टुंगो लगाएका जिल्ला अध्यक्ष र सचिवको नाम भने हेर्न नपाइएको सचिवालयका एक सदस्यले बताए ।

टुंगिएको भागवण्डाअनुसार ४२ जिल्लामा पूर्वएमाले र ३५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व लिने विषयमा यसअघि नै सहमति भइसकेको थियो । पार्टीभित्र पूर्व दुई पार्टीका बीचमा एकताको बोरमा सैद्धान्तिक सहमति भएपछि नेकपाका अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीचको आन्तरिक विवादको कारण एकता प्रक्रिया धकेलिँदै आएको थियो ।

पटकपटक बसेको सचिवालयको बैठकले सहमति जुटाउन नसकेपछि बसेको स्थायी समिति सदस्यले पनि निकास निकाल्न सकेको थिएन । झण्डै छ महिनापछि गठित कार्यदलले पनि एकताको खाका कोर्न सकेको थिएन । स्थायी समिति बैठकबाट गठित सचिवालय सदस्य रामबहादुर थापा नेतृत्वको कार्यदलले काम गर्न नसकेपछि भंग गरेर एकताको टुंगो सचिवालयले नै लगाउने निर्णय भएको थियो ।

–११ महिनापछि एकताको सुरसार
–ओली र प्रचण्डको सक्रियता, नेपाल नरम
–पोलिटब्युरो गठन छिट्टै
–केन्द्रीय सदस्यको पनि कार्यविभाजन हुने

सोही अनुरुप एक साताअघि चन्द्रागिरिमा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेलसहित बसेको आवासीय बैठकले जिल्ला कमिटीको नेतृत्वको खाका तयार गरेको थियो । लगत्तै अध्यक्षद्वयले असन्तुष्ट वरिष्ठ नेता नेपाल, सचिवालयका सदस्यहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका थिए । ओली र प्रचण्डले नेपालको असन्तुष्टिलाई पनि सम्बोधन हुने गरी जिल्लाका अध्यक्ष र सचिवको नामावली टुंगो लगाएको बताइएको छ ।

७१औं पार्टी स्थापना दिवसको अवसरमा सोमबार (आज) प्रज्ञा भवनमा हुने कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले लामो समयदेखि सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न नसकेको अवस्थामा जिल्लाको नेतृत्वको टुंगो लगाएको बताउनुभयो । ‘केही दिनभित्र पोलिटब्युरोको गठन गरी केन्द्रीय सदस्यको कार्यविभाजन हुन्छ’ –प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

नेकपाले गत जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठनिक एकताको काम ११ महिनापछि बल्ल टुंग्याउने सुरसार गरेको छ । पार्टी एकताको घोषणा भएको दिन ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको गठन गरे पनि अहिलेसम्म एक पटक पनि केन्द्रीय समितिको बैठकसमेत बस्न सकेको छैन् । पार्टी एकता भएपछि दुईपटक स्थायी समितिको बैठक बसेको छ । जिल्ला नेतृत्वको टुंगो लगाए पनि जनवर्गीय संगठनहरुको एकताको काम भने अझै केही समय लाग्ने सचिवालयका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्