सार्वजनिक विद्यालय सुधारका लागि राष्ट्रिय सम्मेलन



 

ईश्वराज ढकाल, काठमाडौं
सरकारले सार्वजनिक विद्यालय सुधार गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

सो सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तह सहभागी हुनेछन् । सम्मेलनमा छनोटमा परेका स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको भूमिकाबारे विश्लेषण हुनेछ ।
यही वैशाख ११ र १२ गते आयोजना गर्न लागिएको सम्मेलनमा बारबर्दिया बर्दिया, होप्सेकोट नवलपरासी, वागमती सर्लाही र नरहरिनाथ नगरपालिका कालिकोट सहभागी हुनेछन् । सम्मेलनमा गाउँपालिकाको तर्फबाट पूर्वखोला पाल्पा र हल्दीबारी झापा छनोटमा परेका छन् ।

ती स्थानीय तहले सार्वजनिक विद्यालय सुधार अभियानमा गरेका कामबारे प्रस्तुतीकरण गर्नुपर्नेछ । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षामा गरेका सुधारका योजनाबारे अध्ययन गरी गाउँपालिका छनोट गरेको थियो ।

विद्यालयका तर्फबाट सातवटा प्रदेशबाट २३ विद्यालयलाई छनोट गरिएको छ । प्रदेश १ बाट ४, २ बाट २, ३ बाट ३, गण्डकीबाट ४, ५ बाट ५, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट २ विद्यालय छनोटमा परेका छन् । तीमध्ये मदरसा, गुरुकुल, विशेष विद्यालयसमेत समावेश भएका छन् । छनोटमा परेका विद्यालयले आफूले सामुदायिक शिक्षा सुधार गर्न गरेका विषयवस्तु सम्मेलनमा प्रस्तुत गर्नुपर्नेछ ।

छनोटमा परेका विद्यालयमा छिमेकी विद्यालयलाई शैक्षिक सुधारका कार्यक्रम सिकाएबापत उत्कृष्ट घोषित मोरङको साझिलाल, पुस्तकालय व्यवस्थापनमा उल्लेखनीय योगदान गरेबापत छनोटमा परेको सोलुखुम्बुको खुम्जुङ, २ हजारभन्दा बढी विद्यार्थी र शिक्षक व्यवस्थापनमा उत्कृष्ट घनुषाको संकटमोचन, स्थानीय स्रोत परिचालन गरी उत्कृष्ट महोत्तरीको जनता, प्रत्येक कक्षाकोठाको छुट्टै भवन रहेको मकवानपुरको लेकाली फसीफाँट र प्राविधिक धर सञ्चालन गरी जिल्लामै उत्कृष्ट कास्कीको जनआदर्श अमरसिह मावि रहेका छन् ।

यस्तै शितलादेवी, चौंरीपालन र होटल सञ्चालन गरी सो आम्दानीबाट विद्यालय सञ्चालन गरेको म्याग्दीको पाउदवार, सबै शिक्षकको बालबालिका सोही विद्यालयमा अध्ययन गर्ने तनहँुको सत्यवती, विद्यार्थी भिन्न धारको व्यवस्थापन गर्ने रुपन्देहीको कालिका, साझेदारीमा सञ्चालित रोल्पाको बालकल्याण, बर्दियाको हरित विद्यालय जगदम्बा, कर्णालीको सर्वतोमुखी विद्यालय जनज्योति, सूचना र प्रविधि क्षेत्रमा विशेष पहल गरिरहेको नेरा मावि सल्यान रहेका छन् ।

उनीहरुले मन्त्री, शिक्षा निकायका उच्च अधिकारीलाई आफ्नो सफलताका विषयमा जानकारी दिनेछन् । छनोटमा परेका विद्यालयमा स्थानीय तहसँग सहकार्य गरी विद्यालय सञ्चालन गर्न सफल कर्णालीको चामुण्डा, डोटीमा आवासीय विद्यालय सञ्चालन गर्न सफल भगवती, दरबन्दी न्यून भए पनि शिक्षण सिकाइमा उत्कृष्ट अछामको दुर्गा, फरक प्रकृतिको खोटाङको जनजागृति आधारभूत विद्यालय, विषेश प्रकृतिको सुनसरीको ज्ञानचक्षु, काठमाडौंको खगेन्द्र नवजीवन, गुरुकुलमध्येबाट तनहुँको महेश संस्कृत विद्यालय, मदरसामध्येबाट मद्रसा वरकटिया बाँके र गुम्बामध्येबाट पल्युन उर्गेन दोर्जे छोलिङ गम्ुबा फर्पिङ रहेका छन् । छनोटमा परेका सबै विद्यालयका प्रअले दुईदिने कार्यक्रममा सफलताको विषयमा जानकारी दिनुपर्ने व्यवस्था छ ।

केन्द्रका प्रवक्ता दीपक शर्माले सामुदायिक विद्यालयमा देखिएको कमीकमजोरी र राम्रा विद्यालयले गरेका उदाहरणीय कामको विषयमा छलफल गर्न राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिँदै भन्नुभयो– ‘स्थानीय तह र विद्यालयले गरेको राम्रो कामको विषयमा छलफल गरी उनीहरुले गरेका कामको अन्य विद्यालयमा कार्यान्वयन गर्न राष्ट्रिय सम्मेलन आयोजना गरेका हौं ।’ विभिन्न क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यालय र स्थानीय तहको अनुभव आदानप्रदान गर्न सम्मेलनबाट आएका विषयवस्तुलाई समेटेर नयाँ योजना निर्माण गरिनेछ ।

सबै प्रदेशमा विद्यालय तहको शिक्षालाई सुधार गर्न योजनाअनुरुप पहिलोपटक राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा शिक्षा क्षेत्रसँग सरोकार राख्ने शिक्षाका सबै क्षेत्रका प्रमुखको उपस्थिति रहने केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्