प्रशासन परिसर भारतीय मोटरसाइकलले भरियो



सरोज यादव, विराटनगर । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको उत्तिकै भीड बढेको छ ।

मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ । थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिनुभयो ।
ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता वितरण भई रहेको वताउनुभयो ।

जसमा रंगेलीबाट १ सय ५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६ सय ६६ लाई नागरिकता वितरण गरिसकिएको छ । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको थियो ।

चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो ।

मोरङबाट ७ सय ७५ ले लिए वंशजको नागरिकता

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृहमन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । नागरिकता पाउनका लागि आमा र वावुुको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ ।

२०६३ सालमा टोलीले देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिकता पाएका थिए ।

उता रंगेलीले अहिलेसम्म १ सय ५९ बटा नागरिकता बितरण गरिसकेको छ भने १५ गतेसम्मका लागि दैनिक ५० बटाका दरले टोकन समेत बितरण गरिसकेको छ । प्रशासनले १६ गतेदेखि पुनः अर्को टोकन बितरण गर्ने इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख जयप्रकाश बस्नेतले बताउनुभयो ।

यता प्रशासनमा नागरिकता लिनेको भीडसँगै प्रशासन परिसरमा भारतीय नम्बर प्लेटका मोटरसाइकलको सख्या समेत बढेको छ । मुख्यगेट अगाडि अहिले दैनिकी ५ देखि १० बटा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरु देखा पर्न थालेका छन ।

प्रशासनबाट नागरिकता वितरण सुरु गरेपछि कार्यालय परिसरमा भारतीय मोटरसाइकलको पाकिङ बढेपछि स्थानीयले नागरिकता पाउने नागरिकका विषयमा शंका समेत ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्