देश सफा गर्न जुटे कीर्तिपुरका स्वयंसेवी



टीका बन्धन, काठमाडौं
‘संसार र समाजलाई बदल्नु छ भने शुरुआत आफैंबाट गरौं’ यस्तो तर्क गर्ने र सुझाव दिनेको संख्या बाक्लै छ। जसले अरूलाई सुझाव दिन्छ, ऊ आफै कार्यान्वयन गर्न पछि हट्छ, तर काठमाडौंको कीर्तिपुर नगरपालिका–१ थाँवहाः टोलका राजमान ‘मानव’ भने पृथक हुनुहुन्छ।

उहाँले यो उक्तिलाई यथार्थमा बदलिरहनुभएको छ। आफू र आफ्ना स्वयंसेवीका साथमा सडक साथै अन्य सार्वजनिक स्थलको सफाइमा निरन्तर जुट्ने गर्नुभएको छ। आफ्नो टोल र नगर मात्रै होइन, राजमान र अन्य स्वयंसेवी देशव्यापी सफाइ अभियान निरन्तर जुटिरहेका छन्।

राजमानसहित अन्य स्वयंसेवीले २०६७ भदौदेखि सोही वर्षको माघ १९ सम्म निरन्तर कीर्तिपुरका टोल, बस्ती र सार्वजनिक स्थल सफाइ गरेका थिए। उपत्यकाबाहिर २०६८ कात्तिकमा मुस्ताङको लोमाङथाङ र मुक्तिनाथ मन्दिर परिसर सफाइ गरेपछि यो अभियान मुलुकका विभिन्न भेगमा पुगिरहेको छ।

हालसम्म विभिन्न जिल्लाका ६१ शहर र बस्ती सफाइमा आफू र आफ्ना स्वयंसेवी साथी सहभागी भएको स्मरण गर्दै राजमान भन्नुहुन्छ– ‘सफाइ अभियान निरन्तर जारी रहनेछ, यस्तो कामले निरन्तरता पाएमा नेपाल र विश्व नै सफा हुन धेरै समय लाग्दैन।’

सफाइ अभियानलाई निरन्तरता दिँदा स्थानीय बासिन्दा, जनप्रतिनिधि र नागरिक अगुवाइलाई नैतिक दबाब पर्ने भएकाले सबैको सहभागितामा २०७८ देखि समग्र नेपाल र सन् २०२८ देखि विश्व नै सफा हुन्छ भन्ने उहाँको विश्वास छ। सन् २०२२ को जनवरी महिनामा १० लाख स्वयंसेवी काठमाडौं उपत्यकाको सफाइमा सहभागी गराउने र एकै दिनमा समग्र उपत्यका सफा गर्ने मानवको महत्वाकांक्षी योजना छ।

‘झट्ट सुन्दा यो ज्यादै महत्वाकांक्षी योजना जस्तो लाग्छ, तर स्कुल, कलेज, क्लब, टे«ड युनियन, व्यापारिक र अन्य संघसंस्था, राजनीतिक दलसहित हरेक टोलबासीको साथ र सहयोग भयो भने असम्भव छैन’ –उहाँले भन्नुभयो।

देशको स्वरूप बदल्ने अभियानमा यदाकदा थाँवहाः टोलबासी नै पुग्ने गरेका छन् भने नियमित खट्नेचाहिँ राजमान र सोही टोलकी सुशीला महर्जन हुनुहुन्छ।

ठूलो समूहलाई काठमाडौंबाहिर टाढा पुर्याउँदा खाने, बस्ने र यातायात खर्च धेरै हुने भएकाले उपत्यका नजिकका गन्तव्यमा मात्रै धेरै जनशक्ति खटिने गरेको महर्जनले प्रष्ट्याउनुभयो।
अन्य नगरको तुलनामा झापाको दमक, महेन्द्रनगरको भीमदत्त नगर, पोखरा, धरान, इटहरी तुलनात्मक रूपमा सफा भए पनि धरान, पोखरा, इटहरी बसपार्क आसपास सधंै फोहोर हुने गरेको सफाई अभियन्ताको अनुभव छ।
आफ्नै नगर कीर्तिपुर, जनकपुर र वीरगन्जजस्ता शहर बजारको अवस्था सन्तोषजनक नभए पनि विगतको तुलनामा सुधारउन्मुख रहेको उनीहरूको बुझाइ छ।

‘हु डज् इफ आई डन्ट’ अर्थात् ‘मैले नगरे कसले गर्ने’ र ‘विश्व सफाइ अभियान, म मेरो देशमा फोहोर गर्दिनँ’ नारा अंकित फ्लेक्ससहितको सफाइ टोली स्वदेशका शहरबजारमा मात्रै होइन विदेशसमेत पुग्ने गरेको छ। बंगलादेशको ढाकास्थित उत्तरी र दक्षिण महानगर, चित्तगन महानगर र नारायणगन्ज नगरका विभिन्न सडक सफा गरेको अनुभव छ। २०७४ मंसिर दोस्रो साता ढाका पुगेको टोलीले माघ दोस्रो सातासम्म सरसफाइ गरेको थियो।

ढाका पुगेको भोलिपल्ट बिहानै राजमान र स्वयंसेवी सुशिलाले ढाका विमानस्थल र आसपासका सडक सफा गर्दा धेरैले आश्चर्य मान्दै उल्टै सम्झाएका थिए– ‘असम्भव काममा किन समय बर्बाद गर्छौै, यो ठाउँ यस्तै हो, कहिल्यै सफा हुँदैन।’

त्यहाँका सडक सफाइमा निरन्तर दुई साता खट्दा स्थानीयले भावनात्मक सद्भाव जनाए पनि सडकमै उत्रिएर साथ दिने भने कोही भएन। दुई सातापछि उहाँहरूको भेट ‘क्लिन बंगलादेश स्वयंसेवी’ टोलीसँग भयो, त्यही टोलीमा सामेल भएपछि धेरथोर हौसला पनि थपियो र मानव र महर्जन सफाइ अभियानका क्रममा एक महिनासम्म उतै रहनुभएको थियो। गत वर्ष क्लिन बंगलादेश टोलीमा ७ हजार स्वयंसेवी रहेकामा यस वर्ष सो संख्या बढेको उहाँहरूको अनुमान छ।

राजमानको बुझाइमा दक्षिण एसियामा क्रमशः बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तान फोहोर छन् ।त्यसपछि मात्रै नेपाल यस्तो सूचीमा छ। सडक र अन्य सार्वजनिक स्थल सफाइका लागि आगामी दिनमा अन्य मुलुकमा पनि पुग्ने उहाँको योजना छ।

मनसुन लगत्तै कुनै मुलुकको सफाइमा पुग्ने योजना बुन्नुभएका राजमानले प्रष्ट्याउँदै भन्नुभयो– ‘गर्मी मौसममा खट्न व्यवहारिक हुँदैन, त्यसैले जाडो मौसम शुरु हुने समयमा जाने योजना भइरहेको छ, अहिले नै देशको टुङ्गो लागेको छैन।’

प्रतिक्रिया दिनुहोस्