पूर्व–पश्चिम राजमार्ग विस्तार शुरू



बुटवल, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी विसं २०८० सालसम्ममा मुलुकमा सडक निर्माण तथा विस्तारको काम सम्पन्न गरिने बताउनुभएको छ। उहाँले २०८० सालसम्मको युग सडक विकासको युग भएको बताउँदै त्यसपछिको समय सुरुङ युगको हुने उल्लेख गर्नुभएको छ। उहाँले सडक विस्तारको काम सम्पन्न भएपछि बर्दघाट–दुम्कीबास सडकमा सुरुङमार्ग निर्माण गरिने बताउनुभयो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विस्तार तथा स्तरोन्नति आयोजनाको शुक्रबार बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकासलाई कसैले पनि रोक्न नसक्ने बताउनुभयो।

उहाँले २०८० सालभित्रै सडक विकासका काम सम्पन्न गरिने बताउँदै आवश्यक ढुंगा गिटी अभावले आयोजनाको काम नरोकिने बताउँदै पहाड फोरेर भए पनि कच्चा पदार्थको अभाव हुन नदिने दाबी गर्नुभयो।

एसियाली बिकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार ८ सय ५१ रूपिँयामा नारायणघाट–बुटवल खण्डको सडक बिस्तार आयोजनाको ठेक्का सम्झौता भएको छ।

४२ महिनामा निर्माण पूरा गर्ने गरी चिनियाँ कपन्नी चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र नेपाल सरकारबीच ठेक्का सम्झौता भएको छ। गैडाकोट–दाउन्ने (६४.४ किमि) र दाउन्ने–बुटवल (४८.५ किमि) दुई खण्डमा विभाजित गरी ठेक्का सम्झौता गरिएको भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले जानकारी दिनुभयो। उक्त सडक खण्ड ४ लेनको हुनेछ।

प्रतिक्रिया दिनुहोस्