पानीजहाज कार्यालयमा कर्मचारी छैनन्



नेपाल समाचारपत्र, काठमाडौं
कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो ।

तर त्यसअनुरुप नभएपछि उहाँको अभिव्यक्तिको तीव्र आलोचना हुन थाल्यो । ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ’ भन्नेको लर्काे सामाजिक सञ्जालमा बेस्सरी देखियो ।

यसैलाई चिर्न सरकारले हतार गरेर एकान्तकुनामा रहेको काठमाडौं रिङरोड योजनाको कार्यालयमा फागुन २ गते प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्घाटन गर्नुभयो तर कार्यालयलाई चाहिने कर्मचारी भने अझै पूरा गर्न सकेको छैन ।

सरकारले उक्त पानीजहाज कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने यो कार्यालयमा कर्मचारी अभावको समस्या देखिएको छ । जसकारण कार्यालय प्रमुखको जिम्मा तत्काल अर्काे व्यवस्था नभएसम्मका लागि चक्रपथ योजनाको प्रमुखलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । योजनामा रहेका कर्मचारीले अब योजनाको कामसँगै पानीजहाज कार्यालयको समेत काम गर्नु पर्ने भएको छ ।

उक्त कार्यालयमा कार्यरत इन्जिनियर पानीजहाज कार्यालयलाई चाहिने जनशक्ति हैनन् । सरकारले यसअघि नै कार्यालयमा सिनियर डिभिजनल इञ्जिनियर, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इन्जिनियरका साथै शाखा अधिकृत, कानून अधिकृत, लेखा अधिकृत र कार्यालय सहयोगी रहने गरी दरबन्दी तोकिसकेको छ । दरबन्दी अनुसारको जनशक्ति अझैसम्म पनि त्यो कार्यालयमा पुगेको छैन ।

कार्यालयमा योजनाको काम गर्ने सिभिल इन्जिनियर मात्रै रहेको कार्यालयका प्रवक्ता निरञ्जन शर्माले बताउनुभयो । ‘कार्यालय स्थापना भइसकेपछि हाल कर्मचारी र कार्यालय व्यवस्थापनको काम भइरहेको छ’, उहाँले भन्नुभयो– ‘आवश्यक कर्मचारी मन्त्रालयले पठाउँदै छ ।’

मन्त्रालयले भने तत्काल अर्काे व्यवस्था नहुन्जेल चक्रपथ योजना प्रमुखले नै कार्यालय सञ्चालनको जिम्मा दिइए पनि अपुग कर्मचारी पठाइरहेको जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी लेखनाथ ज्ञवालीले कार्यालय प्रमुखका लागि कर्मचारी समायोजन गरी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्