संघमै आकर्षित भए कर्मचारी: प्रदेश र स्थानीय तहमा अभाव



सुनील महर्जन, काठमाडौं
सकारले ल्याएको कर्मचारी समायोजनमा सोमबार सम्म ७ हजार ३ सय ४१ क्र्मचारीको समायोजन भएको छ । सो मध्ये ५ हजार ६ सय ९१ जना कर्मचारी संघमा नै समायोजन भएका छन ।

हालसम्म समायोजन सकिएको कुल कर्मचारी संख्यामध्ये अधिकांश संघमै समायोजन भएका हुन् । ९ सय ७ जना प्रदेशमा र ७ सय ४३ जना स्थानीय तहमा समायोजन भएका छन ।

कुल ७७ हजार ३४ जना कर्मचारीले समायोजनमा जान फारम भरेका थिए । त्यसमध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै रहने गरी समायोेजन रोजेका छन ।
सरकारले स्थानीय तह र प्रदेशमा खटाउन कर्मचारी समायोजन ल्याए पनि अत्यधिक कर्मचारीको रोजाइ संघ मै परेको छ । यसबाट प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव हुने देखिएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन समायोजन अध्यादेश ल्याइएको थियो । ऐनको मनसाय विपरीत प्रक्रिया पु¥याएर घुमाइफिराई संघमै समायोजन हुने कर्मचारीको संख्या अत्याधिक रहेको छ ।

‘केन्द्रको दरबन्दी भएसम्म रोजेको ठाउँमा समायोजन गर्छौं । दरबन्दी भन्दा बढी भए ती कर्मचारीलाई प्रदेशमा र स्थानीय तहमा खटाउनेछौं’ –संघीय मामिला तथा प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानारी दिनुभयो । सरकारले केन्द्रमा ४९ हजार ९ सय २० जनाको दरबन्दी स्वीकृत गरेको छ । यता १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् ।

मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम शुरु गरेको थियो । सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिएको छ । ५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६ सय ७६ सहसचिवमध्ये संघमा ५ सय ७४ र प्रदेशमा १ सय २ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।

२ हजार ६ जना उपसचिवको समायोजन भएको छ । सो मध्ये संघमा १ हजार ५ सय ३१, प्रदेशमा २ सय ३७ र स्थानीय तहमा २ सय ३८ जना समायोजन भएका छन् । यसै गरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३ सय ४१ जना संघमा, ३ सय ७१ जना प्रदेशमा र १ सय ७८ जना स्थानीय तहमा समायोजन भएका छन्।

लेखा समूहतर्फका १ सय ६० जना उपसचिव संघमा समायोजन भएका छन् । प्रदेश र स्थानीय तहमा भने ७÷७ जना समायोजन भएका छन् । राजस्वतर्फ १ सय ५२ जना उपसचिव संघमा समायोजन हँुदा प्रदेशमा समायोजन हुनेको संख्या १४ रहेको छ ।

त्यसै गरी लेखा समूहका ६ सय १० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमा भन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३ सय २७ र प्रदेशमा १ सय ९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ । राजस्वतर्फ ५ सय ८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५ सय ७८ जना लेखा अधिकृत संघमै रहेका छन् ।

हाइड्रो इन्जिनियरिङ, आर्थिक योजना तथा तथ्यांक र जनरल मेकानिकलका सबै जना संघमा समायोजन भएका छन् । हाइड्रो इन्जिनियरिङतर्फ २०, इन्जिनियरिङ जनरल मेकानिकलतर्फ १७ र तथ्यांक सेवाका ५८ जना रहेका छन् । इन्जिनियरिङ सेवा अन्तर्गत हाइड्रोलोजीतर्फ भने संघ र प्रदेशमा समान ७÷७ जना समायोजन भएका छन् ।

कर्मचारी समायोजन महाशाखा प्रमुख एवं प्रवक्ता अधिकारीका अनुसार अहिले अधिकृतको समायोजनको काम जारी छ । अधिकृततर्फ प्रशासन, लेखा र राजस्व समूहका करिब १२ हजार शाखा अधिकृतको समायोजन सकिएको हो ।

अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि शुरु गर्ने तयारी छ ।
शिक्षा समूहतर्फ समायोजन भएका कुल उपसचिवको संख्या ४ सय २९ मध्ये स्थानीय तहमा २ सय २७ जना समायोजन भएका छन् । संघमा १ सय ४६ र प्रदेशमा जम्मा ५६ जना उपसचिव समायोजन भएका छन् । प्रतिशतमा हेर्दा स्थानीय तहमा शिक्षाका ५३ प्रतिशत कर्मचारी समायोजन भएको देखिन्छ ।

तर बढुवा भएका शिक्षाका उपसचिव धेरै भएपछि व्यवस्थापन गर्नुपर्दा स्थानीय तहमा बढी समायोजन भएको देखिएको मन्त्रालयका अधिकारीहरुको भनाई रहेको छ । सरकारले फागुन ३ गतेभित्र समायोजन सक्ने लक्ष्य राखेको थियो । तर समायोजनमा सकस भएपछि तोकिएको समयावधि भन्दा ढिलाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्