राष्ट्रसंघिय समितिको उपाध्यक्षमा राणा निर्वाचित



काठमाडौं, (नेस)
महिला अधिकारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला बिरुद्द हुने भेदभाव अन्त्य सम्बन्धी समिति (सिडो)को उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । आगामी दुई वर्षका लागि उहाँ सो पदमा निर्वाचित हुनु भएको थियो ।

राष्ट्रसंघीय उच्च पदमा नेपाली महिला पुगेको यो नै पहिलो पटक हो । सोमबार राणा सो पदका लागि चयन हुनु भएको हो । नेपाल, पेरु र फ्रान्स सन् २०२० डिसेम्बर ३१ सम्मका लागि उपाध्यक्षमा निर्वाचित भएका हुन । सन् १९८२मा स्थापना भएको सिडोमा एसिया, अफ्रिका, दक्षिण अमेरिका, पूर्वी यूरोप र पश्चिमी यूरोपको प्रतिधित्व रहने गरी ५ जनाको व्यूरो रहने ब्यवस्था छ । अध्यक्षमा भने घानाका प्रतिनिधि निर्वाचित भएका छन् ।

५ वटै भेगको प्रतिनिधित्व रहने गरी उक्त व्यूरोमा एक जना अध्यक्ष, ३ उपाध्यक्ष र एक जना ¥यापोर्टर रहने व्यवस्था रहेको परराष्ट्र मन्त्रालयका पूर्व सह–प्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो ।

राणा महत्वपूर्ण जिम्मेवारीमा निर्वाचित हुनु नेपाल र नेपालीका लागि निकै गौरवको विषय भएको बताउँदै उहाँले भन्नुभयो–‘यो नेपालका लागि ऐतिहासिक सफलता हो ।’ राणा यस अघि २०१६मा सिडोको विज्ञ सदस्यमा निर्वाचित हुनु भएको थियो ।

सिडो विज्ञ सदस्यमा २३ जना सदस्य रहने प्रावधान छ । राणाले यस अघि सम्हाल्नु भएको सदस्यको जिम्मेवारी २०१७ को जनवरीदेखि २०२०को जनवरी सम्मका लागि हो । परराष्ट्र मन्त्रालय र न्यूयोर्कस्थित नेपाली नियोग सहित विभिन्न मुलुकका नेपाली नियोगले राणाको पक्षमा लविङ गरेपछि नेपालले यो सफलता प्राप्त गरेको परराष्ट्रका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्