सोचे अनुरुपको काम नभएपछि मन्त्री हेरफेरको तयारी



मधुसूदन रायमाझी, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने भद्र सहमति भएको हो ।

सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमति बमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने गृहकार्य अगाडि बढेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरेपछि नागरिकस्तरबाट आलोचना सुरु भएको छ ।

सरकारले प्रभावकारी काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको बेला नेकपाभित्र भने मन्त्री फेर्ने गृहकार्य अगाडि बढेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

उनका अनुसार हाल सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री ओलीको मूल स्प्रिटलाई पक्रन नसकेकाले मन्त्री फेर्ने अध्यक्षद्वयले गृहकार्य गरेका हुन् । सरकारमा नेकपाको तर्फबाट प्रधानमन्त्रीसहित २२ र संघीय समाजवादी फोरम ३ गरी २५ जना मन्त्री रहेका छन् । जसमा प्रधानमन्त्रीसहित २२ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको पनि अनुगमन गर्ने चेतावनी दिएपछि अधिकाशं मन्त्रीले त्रासमा काम गर्नुपरेको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको कामको मूल्याङ्कन गर्नका लागि नम्बर दिने प्रक्रिया अगाडि बढाएको थियो । विभागीय काम गर्न पनि प्रधानमन्त्रीले हस्तक्षेप गरेको गुनासो मन्त्रीहरुको रहेको छ । मन्त्रीहरुले विभागीय मन्त्रालयअन्तर्गतका विभागलगायतका निकायमा नियुक्ति र सरुवा बढुवा गर्न पनि गर्न प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि प्रधानमन्त्री र मन्त्रीहरुको बीचमा शीतयुद्ध चल्दै आएको छ ।

निर्मला पन्त प्रकरणमा गृहमन्त्री रामबहादुर थापालाई परिवर्तन गर्ने चर्चा चलाइएको थियो । त्यसै गरी ओली नेतृत्वको सरकारमा कानुनमन्त्री भएका शेरबहादुर तामाङ बंगलादेशमा नर्स पढ्न गएका विद्यार्थीको बारेमा दिएको अभिव्यक्तिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुभएको थियो ।संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई मन्त्रीबाट फेर्नुपर्ने दबाब नेकपाभित्रबाट सुरु भएको छ ।

वाइडबढी विमान खरिदको विषयलाई लिएर मन्त्री अधिकारी विवादमा तानिँदै आएका छन् । सरकारमा सहभागी मन्त्रीहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै अध्यक्षद्वय ओली र प्रचण्ड मन्त्री फेर्ने कसरतमा जुटेका छन् ।
केही मन्त्रीलाई मात्र फेर्दा विवाद हुने भएकाले सबै मन्त्रीलाई नै फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा गृहकार्य सुरु भएको बताउँदै स्रोतले भन्यो– ‘दुई बहुमतको सरकारले परिणाम देखाउने गरी काम गर्नका लागि सेट नै परिवर्तन गर्ने कि केही मन्त्रीलाई यथावत् राखेर केहीलाई मात्र फेर्ने भन्ने टुगो लाग्न बाँकी छ ।’

नेकपाभित्र एक वर्षसम्म कुनै पनि मन्त्रीहरुलाई नफेर्ने नीति लिएको थियो । तर एक वर्ष पुगेपछि नेकपाभित्र मन्त्री बन्नेका लागि नेताहरुको दौडधुप पनि सुुरु भएको छ ।

नेकपाका नेता देवेन्द्र पौडेलले पनि समाचारपत्रलाई दिएको अन्तरवार्तामा पार्टीले आवश्यक ठानेको अवस्थामा मन्त्रीहरु हेरफेर हुन सक्ने बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो– ‘आवश्यक प¥यो भने प्रसंगमा प्रवेश गर्नुपर्छ । पार्टीमा यो बारेमा औपचारिक छलफल भएको छैन् ।

मन्त्रीलाई व्यक्तिगत रुपमा यसले ग¥यो यसले गरेन भनेर फेर्ने र बदल्ने भन्दा पनि पनि एउटा खास मिसन लक्ष्य र उद्देश्य बनाएर पार्टीको निर्णयको आधारमा क्याबिनेटलाई पुनर्गठन गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्