आर्मी उपाधि रक्षा गर्ने होडमा



गोकुल घोरसाइने, बारा
आयोजक नवजनजागृती यूवा क्लब सिमरालाई स्तव्ध पार्दै गत संस्करणको विजेता त्रिभूवन आर्मी क्लब रुस्लान १०औं सिमरा गोल्डकपको उपाधि रक्षा गर्ने होडमा उभिएको छ ।

सिमरा रङ्गशालामा बुधबार भएको प्रतिष्पर्धात्मक खेलमा नवजनजागृतिलाई १–० ले पाखा लगाउदै आर्मीले फाइनलमा स्थान बनाएको हो । खेलको ५० औं मिनटमा कप्तान भरत खवासले गरेको गोल नै जितको लागि पर्याप्त भयो । सेसाङ लिम्बुको पासलाई भरतले गोलमा परिणत गरेका थिए । यो आर्मीको चौथो पटक फाइनल प्रवेश हो । आगामी शनिवार हुने उपाधि भिडन्तमा आर्मीले थ्रीस्टार र हिमालयन शेर्पाविचको खेलको विजेतासंग स्पर्धा गर्नेछ ।

स्थानीय यूवा खेलाडीले भरिएको नवजनजागृतीविरुद्ध आर्मीका अनुभवी खेलाडी चल्न नसक्दा जीतका लागि आर्मीले निकै संघर्ष गर्नुप¥यो । पहिलो हाफको शुरुवातमा आक्रामक रुपमा प्रस्तुत भएको आयोजकका खेलाडीले खेलको अन्तिम सम्मपनि आर्मीलाई खेलमा हावी हुन दिएनन् ।

१४ औं मिनटमा आयोजकका नाकोटाले अग्रता लिने अवसर चुकाए । उनले डिबक्स भित्रैबाट गरेको प्रहार क्रसबार माथी गयो । त्यसको केहिबेरमै आयोजकको अर्को प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए । १६ औं मिनटमा डि–बक्स बाहिरबाट प्रज्वल थापामगरको प्रहार विकेशले पञ्च गरेर क्रसबार बाहिर पठाए ।

खेलको २४ औं मिनटमा आर्मीका लागि भरतले सुन्दर अवसर गुमाएका थिए । टंकले डिबक्स भित्रै निकालेको पासलाई भरतले फितलो प्रहार गर्दा आयोजकका गोलरक्षक टेकेन्द्र थापाले बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकेको आयोजक विरुद्ध आर्मीले दोश्रो हाफको शुरुवातमै अग्रता बनायो । ५० औं मिनटमा भरतले गोल गरेका थिए ।

खेलको ५८ औं मिनटमा आर्मीका सन्तोष तामाङले अग्रता दोव्वर पार्ने अवसर गुमाए । टंकको क्रसमा सन्तोषको प्रहार सेकेण्डबार हुँदै बाहिरियो । खेलको ६० औं मिनटमा भरतले अर्को अवसर गुमाए । सेन्टरलाईनबाट एकल प्रयासमा बल अघि बढाएका खवासको फिनिसिङ फितलो बन्दा आयोजकका गोलरक्षकले सहजै बचाउ गरे ।

खेलको अन्तिम इन्जुरी समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा आयोजकको यात्रा सेमीफाइनलमै व्रेक भयो । सुनिल खड्काको क्रस बल डिबक्स भित्र नाकोटाले सम्हाल्न सकेनन् सोही बल प्रज्ज्वलले प्रहार गर्दा पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

आयोजक विरुद्धको खेलमा आर्मीका डिफेण्डर विमल पाण्डे म्यान अफदि म्याच घोषित हुँदै १० हजार नगदसहित ट्रफि हात पारे । विहिबार प्रतियोगिताको अन्तिम सेमीफाइनलमा दोश्रो संस्करणको उपाधि विजेता हिमालयन शेर्पाले गत वर्षको उपविजेता थ्रीस्टार क्लबको सामना गर्दैछ ।

हारपछि नवजनजागृतिका प्रशिक्षक सोनु क्षेत्रीले लगातारको प्रतियोगितापछि खेलाडीहरु थाकेकाले सोंचे अनुसारको प्रदर्शन गर्न नसकेको बताए । ‘१० दिनमा ५ वटा प्रतियोगिता खेलेका छौं, केहि खेलाडी खेल्दै नसक्ने गरी घाइते भएका छन्’ प्रशिक्षक क्षत्रीले भने । आर्मीका अनुभवी खेलाडीसंगको प्रतिष्पर्धामा फिनिसिङमा कमजोरी रहेकाले हार व्यहोर्नुपरेको क्षत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्