मनाङमा पानी जम्यो, बासिन्दा तातो पानी लिएर मुहानमा



मनाङ। उच्च हिमाली जिल्ला मनाङमा भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मंगलबारदेखि मनाङमा हिमपात भएको हो ।

लामो समयपछि भएको हिमपातका कारण मनाङको जनजीवन कष्टकर भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बतानुभयो । हिमपातसँगै  हावा चलेपछि जिल्लाको सदरमुकाम चामेदेखि माथिल्लाे पिसाङ, ध्यारू, ङवल, हुम्दे, भ्राका, मनाङ, टंकीमनाङ, खाङसार, नार र फु गाउँमा अत्याधिक चिसो बढेको छ ।

बाक्लो हिउँ र चिसो हावाको कारण बाहिर निस्कने अवस्था समेत नरहेको स्थानिय मेगबहादुर विक (म्याक्स) ले बतानुभयो । हिमपात र अत्याधिक चिसोका कारण सवारी साधन चल्न सकेका छैनन् । मनाङ पुगेका पर्यटकहरु हिमपातका कारण रोकिएका छन् भने स्थानियका दैनिक काम प्रभावित भएका छन् ।

मनाङको तल्लो भागमा अत्याधिक चिसो भएपनि हिउँ परेको छैन भने तिमाङ देखि माथी चामे लगायत माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातको कारण जनजिवन प्रभावित भएपनि स्थानिय हार्षित भएका छन् । सुख्खा जमिनमा हिमबर्षा हुँदा सिँचाई पुगेको मनाङका व्यवसायिले बताएका छन् । मनाङ्गमा चिसो बढ्न थालेपछि अधिकांश स्थानियले जिल्ला छाडिसकेका छन् ।

विशेष गरी माथिल्लो मनाङ्गका बासिन्दा जिल्ला छाडेर लमजुङ, काठमाण्डौ, पोखरा लगायत अयन्त्र गएका हुन् । अधिकांशले जिल्ला छोडेपनि अत्याधिक चिसोका कारण मनाङमै रहनेहरुको जनजिवन कष्टकर बनेको छ । पर्यटकको चाप रहने मनाङमा अत्याधिक चिसो भएपनि पर्यटकहरु आउन छोडेका छैनन् ।

चिसो मौषममा जनजिवन कष्टकर भएपनि जसोतसो पर्यटकहलाई सेवा सुविधा दिएको नेस्याङ–१, ढिकुरपोखरीका होटल व्यवसायी समिरबाबु घलेले बताउनुभयो । ‘आन्तरिक तथा बाह्य पर्यटक आउन छोडेका छैनन’ घलेले भन्नुभयो ‘धेरै होटल बन्दभएपनि हामीले कष्टका साथ सेवा दिइरहेका छौँ ।’

अत्याधिक चिसोले गर्दा खोला खोल्सा लगायत पिउनका लागि ल्याइएको पानी पाईप भित्रै जम्न थालेपछि निकै कष्ट भएको स्थानिय बताउछन् । पाईप भित्रै पानी जमेपछि पानीको मुहानमा पुगेर तातो पानी पाईपमा हालेर बरफ पगाल्न बाध्य भएको चामेका स्थानिय मेगबहादुर विक (म्याक्स)ले बताउनुभयो। चिसो बढेपछि मनाङका विद्यालयहरु बन्द गरिएका छन् भने विकास निर्माणका कामहरु पूर्ण रुपमा प्रभावित भएका छन् ।

खालीबस्ती, सुरक्षा निगरानी कडा

अत्याधिक चिसोका कारण अधिकांश बस्ती खाली भएको मनाङको सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्ती खाली हुँदैगर्दा चोरी, शिकार जस्ता अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्