चिसोमा विपन्नलाई उद्धार गर



दलित तथा विपन्न परिवारका जनतालाई लक्षित गर्दै सरकारले जनता आवास कार्यक्रम अघि बढाए पनि यसको कार्यन्वयन सहीरूपमा हुन नसकेको भन्दै विभिन्न जिल्लाबाट गुनासोसहितका खबरहरू बाहिर सार्वजनिक भएका छन्। कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा यो चिसो मौसममा झन् बढी सास्ती बेहोर्नुपर्ने देखिन्छ। तराईमा केही दिनयताको शीतलहरूले दर्जनभन्दा बढीको ज्यानसमेत गइसकेको छ।

बास नहुँदा पनि मानिसले चिसो मौममा ज्यानै जान सक्ने सम्भावनाबाट गुज्रिनुपर्ने पनि हुन्छ। कतिपय स्थानमा मन्त्रालयले जिल्ला संयोजक तोक्न नसक्दा झन् कार्यक्रमले गति लिन सकेको छैन। सरकारले राम्रो घर बनाइदेला र बसौंला भन्ने आशामा रहेका दलित समुदाय तथा विपन्न परिवारका दर्जन परिवार चर्को पुसको जाडोमा बिचल्लीमा परेका छन्।
सरकारले सुरक्षित घर बनाइदिने आश्वासन पाएका उनीहरूले घर भत्काउन राजी भए पनि भत्केको छ महिना कटिसक्दासम्म नयाँ घर नबनेपछि मंसिर–पुसको शीतलहर र कठ्याङ्ग्रिदो चिसोमा खुला आकाशमुनि कहर काट्न बाध्य हुनुपरेको गुनासो पीडितहरूको छ। घर बनाइदिने भन्दै पहिले भएको झुप्रो पनि सबै भत्काइदिए। तर, यतिका दिनसम्म नयाँ घर पनि नबनाइदिएपछि जाडोमा मर्नु न बाँच्नुको अवस्था आएको पीडितहरूको भनाइ छ। दिउँसो घाम लागेका बेला तापेर बसे पनि रात परेपछि खुल्ला आकाशमुनि बस्नुपर्दा शीत र चिसोले प्रत्येक घरका बालबालिका र वृद्धवृद्धामा बिरामीको संक्रमण बढ्न थालेको छ।

नवलपरासी जिल्लामा पनि केही परिवारले आश्वासन पाए पनि समयमा घर नहुँदा बिचल्ली खेप्नुपर्ने अवस्था सिर्जना भएको छ। जिल्लामा जनता आवास कार्यक्रम शहरी विकास मन्त्रालयले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनलाई हेर्ने जिम्मा दिएको छ। जिल्लामा ५ सय विपन्न परिवारले घर पाएका छन् तर कार्यालयले अहिलेसम्म दोस्रो किस्ता गरी १ लाख रुपियाँ मात्र निकासा गरेकाले घर अधुरो नै रहेको प्रतापपुर गाउँपालिका–७ का स्थानीयले गुनसो गर्ने गरेका छन्। विशेष गरी मुसहर र विभिन्न स्थानीय तहको दलित बस्तीहरूमा यो घर परेको छ, जहाँका जनता अहिले कडा चिसो सहन बाध्य भएका छन्। यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक देखिन्छ।
– प्रशान्त अधिकारी, हाल ः कलंकी।

प्रतिक्रिया दिनुहोस्