नक्कली कागजात बनाउने पक्राउ



काठमाडौँ, प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक जनालाई आज तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मनमैजुमा उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेका महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उक्त साइबरले नक्कली कागजपत्र बनाउँदै आएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

सो क्रममा निज श्रेष्ठले सक्कली सर्टिफिकेट, सवारी चालक अनुमतिपत्र, नागरिकतालगायतमा वास्तविक नाम हटाइ नक्कली नाम राखी बिक्री गर्ने गरेको पाइएको थियो । प्रहरीले उनका साथबाट नक्कली कागजपत्र बनाउन प्रयोग गरिएको ल्यापटप, फोटोकपी मेसिन र तयारी अवस्थामा राखिएका नक्कली कागजपत्रसमेत बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई लिखत कीर्तेमा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्