कांग्रेस प्रवक्ता शर्माको चेतावनी– निर्मलाका हत्यारा पत्ता नलगाए देशैँ ठप्प पार्छौं



मनोज भट्ट, महेन्द्रनगर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारीलाई पत्ता नलगाए मुलुक नै ठप्प पार्ने चेतावनी दिएका छन् । सोमबार बिहान भीमदत्त नगरपालिका–२ स्थित घर पुगेर प्रवक्ता शर्माले निर्मला पन्तका बलात्कारीलाई पत्ता लगाएर कारवाही नगरे कांग्रेसले मुलुक ठप्प पार्ने चेतावनी दिएका हुन् ।

‘‘सरकारले राम्रोसँग अपराधी पत्ता लगाउने काम गर्दैन भने यही मुद्दामा मुलुक ठप्प पार्ने गरी कांग्रेसले कुनै कार्यक्रम घोषणा गर्नुपर्ने अवस्था नआओस्,’’ निर्मलाको घर पुगेका सञ्चारकर्मीसँगको प्रतिक्रियामा उनले भने । प्रहरी गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाका अपराधी नजिक पुग्न नसकेको भन्दै कांग्रेस प्रवक्ता शर्माले सरकारले नै अपराधी जोगाउन खोजिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले निर्मलाको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि कांग्रेस सरकारलाई सघाउन तयार रहेको र असहयोग पुगेको भए सरकारले भन्नुपर्ने बताए । ‘‘सरकारलाई हाम्रो पूरा साथ छ । निर्मला पन्तको आत्माले न्याय पाउने गरी दोषीलाई कठघरामा ल्याउन हाम्रो के साथ चाहिन्छ, प्रतिपक्षको यदि असहयोग भएको छ भने सरकारले भन्नुपर्यो । हाम्रो के भूमिका चाहिन्छ । कांग्रेस शालिन ढंगले सहयोग गर्न तयार छ,’’ शर्माले भने ।

उनले निर्मलाको शव पखालेर प्रमण नष्ट गरिएको जिकिर गर्दै सरकारले शव पखालिएको अवस्थाबाटै अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे । ‘‘किन शव उठाउँदै गर्दा कपडा धोइयो ? किन लाश पखाल्नतिर लागियो ? त्यहीबाट सरकारले गम्भीरतापूर्वक छानविन गरे भयो नि,’’ प्रवक्ता शर्माले प्रश्न गरे, ‘‘हत्यारा भनेर शंका गरिएका मान्छे पत्ता लगाउने सुत्रहरुलाई नै धोएर संसारमा कहाँ हुन्छ, हत्याराको खोजी ?’’

निर्मलाकी आमा दुर्गादेवीले कांग्रेस प्रवक्ता शर्मासँग ६ महिना पुगिसक्दा पनि हत्यारा पत्ता नलागेकाले आफूले हार खाइसकेको गुनासो गरिन् । उनले जसरी भएपनि निर्मलाका हत्यारा पत्ता लगाउने काममा सहयोग गरिदिन शर्मासँग आग्रह गरिन् । ‘‘मलाई चाहिएको न्याय हो । जसरी भएपनि सबै मिलेर अपराधी पत्ता लगाइदिन पर्यो,’’ उनले भनिन्, ‘‘मलाई अपराधी चाहियो, छ महिना पुगिसक्दा पनि अपराधी पत्ता नलागेकाले हामीले हार खाइसक्यौं ।’’

प्रतिक्रिया दिनुहोस्