नवनियुक्त राजदूतहरुलाई तालिम



नेपाल समाचारपत्र, काठमाडौं
विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतहरुलाई तालिम दिइने भएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठाले यही माघ दोस्रो सातादेखि नयाँ राजदूतलाई तालिम दिने तयारी गरेको हो ।

पाँचदिने तालिममा परराष्ट्र सेवाका करियर राजदूत र राजनीतिक नियुक्ति दुवै थरी राजदूत सहभागी हुने प्रतिष्ठानले जनाएको छ । आफ्नो कार्यकालमा राजदूतहरुले अपनाउनुपर्ने जिम्मेवारी, कूटनीतिक आचरण, व्यवहार, मर्यादा, नेपालको प्राथमिकताजस्ता पक्षमा केन्द्रित रहेर प्रतिष्ठानले नवनियुक्त राजदूतलाई तालिम प्रदान गर्दै आएको छ । प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्धसरकारी निकाय हो ।

सरकारले इजरायलका लागि डा. अञ्जाल शाक्यलाई राजदूत नियुक्त गरिसकेको छ भने भारतका लागि पूर्वराजदूत एवं पूर्वमन्त्री निलाम्बर आचार्यको नियुक्तिको अन्तिम प्रक्रिया अघि बढेको छ । आचार्यलाई गत बिहीबार भारतले सहमति पत्र (एग्रिमो) पठाएसँगै उहाँलाई आज आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्ने परराष्ट्र स्रोतले जनाएको छ ।
सरकारले गत कात्तिक २५ गते शाक्य, आचार्य र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स (यूएई) का लागि राजदूत सिफारिस गरेको थियो । तर ढकालको एग्रिमो भने अझै प्राप्त नभएको परराष्ट्रले जनाएको छ ।

यसैबीच संसदीय सुनुवाइ समितिले फ्रान्स, थाइल्यान्ड, स्विट्जरल्यान्ड, क्याडना र कुवेतका लागि प्रस्तावित परराष्ट्र सेवाका करियर राजदूतहरुको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेसँगै उहाँहरुको नियुक्ति प्रक्रिया पनि अघि बढेको छ । समितिले नाम अनुमोदन गरेसँगै परराष्ट्रले प्रस्तावित मुलुकमा एग्रिमोका लागि पठाउने गर्छ । समितिको बिहीबारको बैठकले फ्रान्सका लागि परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारी र थाइल्यान्डका लागि गणेशप्रसाद ढकालको नाम राजदूतका रुपमा अनुमोदन गरेको हो ।

त्यसै शुक्रबारको बैठकले परराष्ट्रका सहसचिवहरु मणिप्रसाद भट्टराई, भृगु ढुंगाना र दुर्गाप्रसाद भण्डारीको नाम पनि सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।

उहाँहरु क्रमशः स्विट्जरल्यान्ड, क्याडना र कुवेतका लागि आवासीय राजदूत सिफारिस हुनुभएको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्