प्रधानमन्त्री स्विट्जरल्यान्ड जाँदै



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार स्विट्जरल्यान्ड भ्रमणमा जाँदै हुनुहुन्छ । वल्र्ड इकोनोमिक फोरमको ४९औँ वार्षिक बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँग भ्रमण दलमा उहाँकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडासहित प्रधानमन्त्री कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुने बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले जनवरी २२ मा त्यहाँ स्टाटेजिक आउटलुक अन साउथ एसियाको प्यान डिस्कसनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्नुहुनेछ ।

२२ जनवरीदेखि २५ सम्म स्विट्रजरल्यान्डको डावोस शहरमा आयोजना हुने सम्मेलनमा जी २० सहित विश्वका १ सय ५० बढी देशका राजनीतिक तथा आर्थिक नेताहरुको जमघट हुने भएको छ ।

सम्मेलनको दोस्रो सत्र ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ मा प्रधानमन्त्री ओलीले जनवरी २३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै जनवरी २३ मै विश्वका आर्थिक नेताहरुको अनौपचारिक जमघटमा ‘इन्ड अफ ग्लोबल ट्रेड बक वि नो इट ?’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली माघ १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्