सुध्रिन आग्रह गर्दा सञ्चारकर्मी ढकालको हत्या



हेटौंडा ।
मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्या अभियोगमा दुई किशोर पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ४० वर्षीय ढकालको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको ७ सदस्यीय प्रहरी टोलीले १० दिनको गहन अनुसन्धानपछि अभियुक्तहरुको पहिचान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको छ । हत्या आरोपमा पक्राउ पर्नेमा हेटौंडा–११ का १९ वर्षीय अनमोल पुडासैनी र मकवानपुरको मनहरी गाउँपालिका–१ का १८ वर्षीय प्रवीण वाइबा छन् । अनुसन्धानका क्रममा शुक्रबार साँझ करिब ५ बजे हेटांैडा–४ बाट घटनामा संलग्न मुख्य आरोपी पुडासैनी र वाइबालाई पक्राउ गरिएको हो ।

हत्यापछि ढकालको मोबाइल १० हजारमा खरिद गरेका भीमफेदी–६ बस्ने दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक ३१ वर्षीय दिनेश थापा तथा सुनको औंठी खरिद गर्ने नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा–२ बस्ने नारायणबहादुर सुनार पनि पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धान र घटनास्थल मुचुल्काको क्रममा विशेषज्ञसहित तालिमप्राप्त कुकुर प्रयोगबाट शंकित व्यक्ति भागेको बाटोको सही दिशाको मार्गनिर्देशित भएको थियो । पटकपटक घटनास्थलको अवलोकन, करिब १ सय ५० जनासँग सोधपुछ, केही व्यक्तिको निगरानी र प्रविधिको विषेश प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा हत्याका मुख्य आरोपी पुडासैनीले आफूहरु रहेको स्थानमा गएर ढकालले ‘यहाँ किन बसेको, प्रहरीलाई भन्दिउँ’ भनेपछि आफूहरुले उनलाई लुटपाट गरेको र धकेल्दा ठोक्किएर मृत्यु भएको बताए ।

पुस २५ गते साँझ करिब पौने ५ बजे आफूहरु बसेर कुराकानी गरिरहेको ठाउँमा ढकाल आएर ‘भाइहरु तिमीहरु जंगलमा किन बसेको, बदमासी गर्न बसेको हो ? प्रहरीलाई बोलाइदिऊँ’ भनेकोले किन त्यस्तो भनेको भनी विवाद भइरहँदा ढकालको हातमा रहेको सुनको औंठी र झोला बोकेकोले प्रलोभनमा परी ढकाललाई हात समाती तानेर लडाइएको र घाँटी थिची सुनको औंठी, पर्स, हार्डडिस्क र झोला खोसेर मुखमा मुक्का प्रहार गरिएको अभियुक्तले बताए । त्यति बेलासम्म ढकालले चलाएको ना. २३ प ६३३८ नम्बर डिस्कभर मोटरसाइकल सडक किनारमा स्टार्ट अबस्थामा नै थियो ।

मार्ने नियतले घटनास्थलमा ढुंगा भएको खोल्सीमा धकेलेको र मोबाइल, सुन र पर्समा भएको ५ सय लिएर पर्स खोल्सीमा फालेको, झोलामा केही नभएकाले झोला पनि फालेर हार्डडिस्क लिएर घटनास्थलबाट फरार भएको अभियुक्तहरुले स्वीकार गरेका छन् ।

उनीहरुले पुस २६ गते हेटांैडा–२ स्थित नारायणी सुनचाँदी पसलमा सुनको औंठी बेचेका थिए । उक्त तथ्य खुलेपछि प्रहरीले पसल सञ्चालक ४८ वर्षीय नारायणबहादुर सुनारको पसलबाट औंठी बरामद गरी उनलाई नियन्त्रणमा लिएको थियो । हार्डडिस्क र डाटाकेवल भने हेटौंडा–४ मा रहेको एनसेल कार्यालयपछाडि पुडासैनीको डेराबाट प्रहरीले बरामद गरेको थियो ।

पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले ढकाल त्यहाँ सही नियतले गएको तर बरालिएका केटाहरुलाई सम्झाउन खोज्दा उनीहरुले लुटपाटको नियतले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो ।

अभियुक्तहरु पहिचान भए पनि ढकाल आफ्नो घरको बाटो छाडेर उक्त दिन त्यहाँ किन गए भन्ने विषय कुरा रहस्यमै छ । उनी परिवारसहित हेटौंडा–११, नवलपुरमा बस्दै आएका थिए । उनका पत्नी र २ छोराछोरी छन् ।

प्रनि थापाले भन्नुभयो–हामीले दिनरात नभनी घटनाका विषयमा गहन अध्ययन÷अनुसन्धानका क्रममा विभिन्न कोणबाट हेर्दा हत्या भएको देखियो । र, अभियुक्त पक्रन सफल भयौं । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धि कसुरअन्र्तगत् कसुर गरेको हुँदा अभियुक्तहरुलाई जन्मकैद हुने प्रहरीको दाबी छ ।

पुस २५ गते साँझ करिब साढे ५ बजे हेटौंडा–१, भैरवडाँडाको जंगलमा ढकाल गम्भीर अबस्थामा भेटिएका थिए । घटनास्थलमा उनको मोटरसाइकल लडेको अबस्थामा थियो । मोटरसाइकलभन्दा केही पर गम्भीर घाइते अबस्थामा उनी फेला परेका थिए । ढकाललाई घटनास्थलबाट हेटांैडा अस्पतालमा ल्याइएको ५ मिनेटपछि डाक्टरले मृतघोषणा गरेका थिए । ढकाल लामो समय रेडियो पालुङ र रेडियो शक्तिमा आवद्ध थिए । हाल उनी हेटौंडाको रेडियो अनमोलमा आवद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्