डहरे क्षेत्रलाई ‘ओपन जु’ का रूपमा प्रवद्र्धन गर्ने तयारी



नेपाल समाचारपत्र
पर्वत
पर्वतको फलेबास नगरपालिकाले स्याङ्जा, पर्वत र कास्कीको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र डहरे देउरालीलाई ओपन जु (खुल्ला चिडियाखाना) को रूपमा प्रवद्र्धन गर्ने तयारी गरेको छ। समुद्री सतहबाट २ हजार २५९ मिटरको उचाईमा रहेको डहरे देउरालीलाई फलेबास नगरपालिकाले पर्यटकीय र धार्मिक महत्वसमेत प्रवद्र्धन हुने गरी ‘ओपन जु’ का रूपमा विकास गर्ने भएको हो।

नगरपालिकाले गत आर्थिक वर्ष र आलु आर्थिक वर्षमा समेत उक्त कार्यक्रमलाई प्राथमिकता दिई वन्यजन्तु संरक्षण, वन क्षेत्र संरक्षण, प्याराग्लाइडिङ उडान, डहरेमा अवस्थित मन्दिरको प्रवद्र्धनलगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ। नगर प्रमुख पदमपाणि शर्माले विस्तृत योजना सर्वेक्षण कार्य भइरहेको बताउँदै उक्त क्षेत्रलाई फलेबास नगरपालिका मात्रै नभई पर्वत जिल्लाकै महत्वपूर्णस्थलका रूपमा विकास गर्ने अभियान सञ्चालन भएको बताउनुभयो।

विभिन्न हिमश्रृङखला, सूर्योदयको अवलोकनका लागि उपयुक्त स्थानका रूपमा मानिएको छ भने धार्मिक दृष्टिकोणले समेत यस क्षेत्रलाई महत्वपूर्ण क्षेत्रका रूपमा लिने गरिएको छ। डहरे देउरालीमा हरिबोधनी एकादशी, हरिसयनी एकादशी, बालाचतुर्दशी, चैते देशै र महानवमीमा मेला लाग्दै आएको छ। विगतका वर्षमा स्याङ्जातर्फको बयले र पर्वततर्फको कार्कीनेटाबाट घण्टौ समय हिडेर पुग्नुपर्ने यो ठाउँमा यस वर्ष भने डहरे क्षेत्र नजिकैसम्म ग्रामीण सडकको पहुँच पुगेपछि यहाँ पुग्ने तिर्थालु तथा पर्यटकहरूको संख्या बढ्दै गएको मोक्षद्वारी बालसिद्ध योग आश्रम सञ्चालक समिति डहरेका अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो। उहाँले नेपाल सरकारले सार्वजनिक गरेको एक सय गन्तव्यमा पर्न नसकेको भन्दै गुनासो समेत गर्नुभयो।

यहाँबाट अन्नपूर्ण, माछापुच्छ«े धबलागिरीलगायत हिमशृङ्खलासहित बाग्लुङबजार, पर्वतको सदरमुकाम कुस्माबजार, कार्कीनेटा, स्याङ्जा, पर्वत र कास्कीको सङ्गमस्थल पञ्चासे, आरुचौर, रापाकोट तथा कास्कीकै पुम्दीभुम्दीस्थित विश्व शान्ति स्तुप, पोखराका केही भागको अवलोकन गर्न पाइन्छ।

हिँड्न सक्ने व्यक्तिका लागि पनि छुट्टै पदमार्गहरू बनेका छन। यहाँ पुग्न नेपालकै पहिलो होमस्टे गाउँ सिरुवारीबाट दुई घण्टा र पर्वतको कार्कीनेटाबाट १ घण्टा पदयात्रा गर्दै यहाँ पुग्न सकिन्छ। यहाँ नपुग्दै बाघको पाइला भन्ने स्थानले पनि पर्यटकहरू लोभिने गरेका छन्। बाघको पाइला जस्तै ढुंगामा भएको आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ।

बालाचतुर्दशीका दिन यहाँ स्थानीय हस्तकलाका सामान, कृषि पेशामा प्रयोग हुने औजार, डोका, नाम्लाका साथै स्थानीयस्तरमा उत्पादित फलफूलको अत्यधिक व्यापार हुने गरेका छ। डहरे देउरालीको शिर र सँगै रहेको अर्को डाँडा (बीचमा लगभग ५०० मिटर दूरी रहेको) लाई जोड्ने गरी बालाचतुर्दशीका दिन तोरण टाँग्ने प्रचलन छ। तोरण तार्नका लागि बाजागाजासहित स्याङ्जा र पर्वतका विभिन्न ठाउँबाट भक्तजन आउने गरेको अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो।

फलेबास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर मनमोहन शान्ति बाटिका निर्माणसँगै डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ उडान गर्ने गरी सम्भाव्यता अध्ययन समेत गरेको छ। बिहीबार कस्मिक प्याराग्लाइडिङ पोखरा र नगर कार्यपालिकाको संयुक्त टोलीले प्याराग्लाइडिङका लागि स्थान अवलोकन गरेको मंसिर महिनाभित्रै उडान भर्ने गरी अध्ययन भइरहेको प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्