सम्पदा निर्माणमा खरिद ऐन बाधक



सुनील महर्जन, काठमाडौं ।
सार्वजनिक खरिद ऐन अनुसार विकास निर्माणका कामहरू ठेक्का प्रथाबाट गर्नुपर्ने नियम छ । तर, पुरातात्विक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुननिर्माणको काम ऐनअनुसार गर्दा तिनको मौलिकता र गुणस्तरीयतामा प्रश्न उठ्ने गरेका छन् ।

पाटनको राधाकृष्ण मन्दिर यसको एउटा ज्वलन्त उदाहरण बनेको छ ।मन्दिर निर्माणमै शुरुकै चरणमा ठकेदार नै गायब भएका थिए ।

बुंगमतीको मच्छिन्द्रनाथको मन्दिर, शंखमुलस्थित जगतनारायण मन्दिर, पाटन सुन्धारास्थित उमा महेश्वरको मन्दिर हाल ठेकदार मार्फत पुनःनिर्माण भइरहेको छ ।ती मन्दिरको पुनःनिर्माणमा प्रगति नभएको र कार्यको गुणस्तरमा प्रश्न उठेको पाइएको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

खरिद ऐन अनुसार टेण्डर गर्दा प्रायःजसो सबैभन्दा कम मूल्यमा ‘बिड’ गर्नुपर्ने हुन्छ ।यस्तो गर्नेले काम पाउने हुनाले गुणस्तरीय काम पनि नहुने तर्क उठ्ने गरेको छ । यस विषयमा मुखरित गर्दै आउनुभएका ललितपुर महानगरपालिका प्रमुख महर्जनले भन्नुभयो ‘बोलपत्र आहवान गरेर गराउँदा लागत रकम भन्दा कम राख्नेले ठेक्का पाउँछ । ‘त्यसमा भ्रष्टाचार हुँदैन भनेर कसरी भन्ने ? त्यो कार्य गुणस्तर हुन्छ भनेर कसरी हुन्छ ’ ।यसमा विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, पुनःनिर्माण प्राधिकरणमा पनि ध्यानाकर्षण गराइसकेको पनि उहाँले बताउनुभयो ।

खरिद ऐन अनुसार टेण्डर गर्दा प्रायःजसो सबैभन्दा कम मूल्यमा ‘बिड’ गर्नुपर्ने हुन्छ । तर, पुरातात्विक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुननिर्माणको काम ऐनअनुसार गर्दा तिनको मौलिकता र गुणस्तरीयतामा प्रश्न उठ्ने गरेका छन् ।

सम्पदाको पुनःनिर्माण सामान्य विकास तथा पूर्वाधारका कामहरू जस्तो नभएकाले अमानतबाट गर्नुपर्ने सम्पदा क्षेत्रको संरक्षणमा लामो अनुभव बटुलिसक्नुभएका विज्ञ दिलेन्द्र श्रेष्ठको भनाई रहेको छ ।सम्पदा पुनःनिर्माण सडक, पुल वा कुनै व्यावसायिक भवन बनाएजस्तो हुँदैन । सम्पदा पुनःनिर्माण वा नवःनिर्माण अमानतबाट गर्नुपर्ने खाँचो छ।’ श्रेष्ठले भन्नुभयो ।

‘मन्दिर पुनःनिर्माणमा प्रयोग हुने मां अप्पा, दाँची अप्पा (मन्दिर निर्माणमा प्रयोग हुने इँटा) धुसी (एकप्रकारको काठ) सडक बनाउने ठेकदार थाहा होला त? ’ पक्कै थाहा हुँदैन । थाहा नहुनले मन्दिर बनाउँदा कस्तो हुन्छ ?’ महानगरपालिका प्रमुख महर्जनले भन्नुभयो । भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणमा सो ऐन आकर्षित हुन नहुने पनि उहाँको भनाई रहेको छ ।

पुरातात्विक सम्पदा पुनःनिर्माणमा दक्ष कालीगढ देखि मौलिक कलाकृति, काठ, माटो, इँटाजस्ता निर्माण सामग्रीको अभावले बेलाबखत समस्या देखिने गरेको काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक रोहित रञ्जितकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘ पाटन दरबार क्षेत्रमा सम्पदा पुनःनिर्माणमा सरकारले सहयोग गर्न चाहेर पनि आर्थिक सहयोग लिन सकेको छैन । किनभने सरकारी पैसा लिन टेण्डरमा जानुपर्ने प्रावधान छ ।’

सम्पदा संरक्षणका सम्बन्धमा सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई हालसम्म पनि उपयुक्त रुपमा सम्वोधन हुने गरी संशोधन नहुदा अप्ठेरो भइरहेको पनि उहाँको भनाई रहेको छ ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार सम्पदा संरक्षणमा जो कोही ठेकेदार कम्पनीको प्रवेशले सम्पदा निर्माणमा असर परेको बताउनुभयो । ‘यसले गर्दा काष्ठमण्डप अमानतमा बनाउने निर्णय अनुरुप पुनःनिर्माणको तयारी भइरहेको छ ।’ प्रदेश नं ३ का सांसद् समेत रहनुभएका अध्यक्ष शाक्यले भन्नुभयो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समुदायस्तरबाट अमानतमा सम्पदा पुनःनिर्माण गर्दा गुणस्तरीय कायम हुने बताउँदै काष्ठमण्डप निर्माणमा महानगरपालिका अग्रसरता लिएको बताउनुभयो ।

‘सम्पदा पुनःनिर्माणमा सार्वजनिक खरिद ऐन बाधक रहेकाले बहसहरु भइरहेको छ, यसमा संशोधन गर्नुपर्ने खाँचो देख्नुहुन्न र’ भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताउनुभएको छ । पाटन दरबार क्षेत्रको बुधबार अवलोकनपछि उहाँले भन्नुभयो ’सम्पदा पुनःनिर्माणमा ऐन, नियम बाधक बन्नुहुँदैन । सम्पदा पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राखेको छु । पुनःनिर्माण कार्यलाई तीब्र गतिमा अघि बढाउनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्