थ्री स्टार उपाधि निकट



 

धनगढी, (नेस)
थ्री स्टार क्लब धनगढीमा भइरहेको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत उपाधि निकट पुगेको छ ।

बुधबार धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा थ्रीस्टारले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले हराएको हो । टोलीको जितमा रुपेश केसी र सुनील बलले गोल गरेका थिए । उत्कृष्ट प्रदर्शन गरे बापत सुनील म्यान अफ द म्याच घोषित भए । उनले १० हजार नगद प्राप्त गरेका थिए ।

ललितपुरे टोलीले शनिबार हुने फाइनलमा बिहीबारको खेलका विजेतासँग खेल्नेछ । आज दोस्रो सेमिफाइनल खेलमा संकटा र पुलिसबीच भिडन्त हुँदैछ ।
यसअघि थ्रीस्टारले पहिलो हाफमा गोल गर्ने अवसर गुमाएको थियो । १४ औं मिनेटमा सुनीलको कर्नरमा रन्जन विष्टको प्रहार रिबाउन्ड भएको थियो । यसै रिबाउन्डलाई अर्को पटक डुम्बियाले प्रहार गरेपनि काकरभिट्टाका गोलकिपर दिप कार्कीले बचाएका थिए । २१ औं मिनेटमा फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

यसैगरी ५३ औं मिनेटमा रुपेशको भली प्रहार दीपले बचाए । ६९ औं मिनेटमा भने रुपेश गोल गर्न सफल भए । रन्जन विष्टको क्रसमा बुद्ध चेम्जोङले दिएको हेडर पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेका रुपेशले गोलको दिशा दिएका थिए । त्यस्तै ८० औं मिनेटमा सुनीलले सुन्दर फ्रिकिक गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्