जिल्ला अस्पताल त्रिशूलीमा रगत अभाव



नुवाकोट ।
जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।
बिशेष गरी जटिल तथा साधारण सुत्केरी गराउन आउने महिलाहरुको लागी रगत आबश्यक हुने भएपनि अस्पतालमा प्रयाप्त मात्रामा रगत नहुँदा सुत्केरीका आफन्तहरु समस्यामा परेका हुन् ।

नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको अस्पतालको रक्तसञ्चार केन्द्रले जनाएको छ । दैनिक सामान्यतया १० देखि १५ जनासम्म सुत्केरी गराउने जिल्ला अस्पतालमा सुत्केरी गराउन आउनेलाई पहिला नै रगतको जोहो गर्न आग्रह गर्ने गरेको अस्पतालको भनाई छ ।

छिमेकी जिल्ला रसुवा र धादिङका बिरामीलाई समेत सेवा पुराउदै आएको जिल्ला अस्पताल त्रिशूलीमा दुर्घटनाका घाइतेलाई उपचार गर्न सधैँ रगत अभाव हुने गरेको छ । जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ ।

केन्द्रले आवश्यक रगत रक्तदान कार्यक्रम तथा दातालाई सम्पर्क गरी सङ्कलन गर्दै आएको छ । यो बर्षमा बैशाख देखि पुससम्म २ सय १० पिन्ट रगत संकलन गरेको नेपाल रेडक्रस सोसाइटी नुवाकोटले जनाएको छ ।

दाताबाट सङ्कलन गरेको रगतलाई रक्त सञ्चार केन्द्रले स्वास्थ्य जाँच तथा परीक्षणका लागि ८०० रुपैयाँ शुल्क लिई उपलब्ध गराउने गरेको छ । केन्द्रमा रगत अभाव हुँदा नुवाकोटका बिरामीका लागि नेपाली सेनाको श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीबाट रगत सङ्कलन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्