म्याग्दीमा वर्षेबालीमध्ये धानको उत्पादन बढ्यो



प्रताप बानियाँ, म्याग्दी ।
उच्च पहाडी जिल्ला म्याग्दीमा विगतको तुलनामा यसवर्ष धानबाली उत्पादनमा वृद्धि भएको छ । समयमै पानी पर्नु, धान खेतीको क्षेत्रफल विस्तार हुनु, अनुकुल मौसम र उन्नत जातको बिउबिजनका कारणले गर्दा धान उत्पादन बढेको हो ।

वर्षेबाली अन्तर्गत मकै, कोदोलगायत खाद्यान्न बालीको तुलनामा धानबालीको उत्पादन बढेको छ । कुल खेतीयोग्य जमिनमध्ये ४ हजार १ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १४ हजार ६ सय ७६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गतवर्ष म्याग्दीमा १३ हजार ९७५ दशमलव ९ मेट्रिक टन धान उत्पादन भएको थियो । अनुकुल मौसम, उन्नत जात र क्षेत्रफल विस्तार भएकाले विगतको भन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ तप्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसवर्ष जिल्लाभर ५ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ । हिमाली क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुन सकेको छैन ।
म्याग्दीमा गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२, खुमल–१० जस्ता लोकल जातका धानहरु रोपिन्छ । जिल्लाका कृषकहरुले बारीलाइ मासेर खेत बनाई धान रोप्न थालेपछि धानको उत्पादनमा समेत वृद्धि भएको छ । वर्षेनी धान उत्पादनमा वृद्धि हुँदै जान थालेपछि अन्य खाद्यान्न बालीको उत्पादन भने कम भएको छ । भात खाने प्रचलन बढ्दै जाँदा कृषकहरुले मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन घटाउँदै गएका छन् ।

यसैगरी यसैवर्ष म्याग्दीमा ९ हजार ९ सय ६३ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएकोमा ३१ हजार ५ सय ३३ मेट्रिक टन मकै उत्पादन भएको कृषि अर्थविज्ञ गुरुङले बताउनुभयो । उहाँले मकैको उत्पादनमा भने केही ह्रास आएको हुँदा कुल उत्पादनको शुन्य दलमलव ७ प्रतिशतले मकै उत्पादन घटेको जानकारी दिनुभएको छ । त्यस्तै कोदोतर्फ २ हजार ७ सय ३६ हेक्टर क्षेत्रफलबाट ३ हजार ५ सय ६८ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क रहेको छ । जिल्लामा विस्तारै कोदो उत्पादन पनि घट्दै गएको देखिन्छ । यसवर्ष कुल उत्पादनको शुन्य दशमलव १३ प्रतिशतले कोदो उत्पादनमा ह्रास आएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

म्याग्दी जिल्लामा मनकामना–१ र ३, देउती, सितलालगायत स्थानीय जातका मकैको उत्पादन हुँदै आइरहेको छ । दलहन बालीतर्फ ६ सय १८ हेक्टर क्षेत्रफलमा भटमास लगाइएकोमा ७ सय ४० मेट्रिक टन उत्पादन भएको छ । पछिल्लो समय म्याग्दी जिल्लामा कोदो र मकैको उत्पादन घट्दै गैरहेको छ । कृषकहरुले मकै, कोदो, गहुँलगायत खाद्यान्न बालीहरु लगाउन छाडेर व्यावसायिक तरकारी तथा सुन्तलाजात फलफुलको उत्पादन गर्न थालेपछि वर्षेबालीको उत्पादन घट्न थालेको कृषि प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्