जनशक्ति र प्राकृतिक स्रोतलाई उपयोग गर्न जोड



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका प”र्वअध्यक्ष चण्डिराज ढकालले भारतीय उद्योग परिसंघद्वारा भारतको मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलनलाई सम्बोधन गर्दै प्राकृतिक स्रोतले धनी दक्षिण एसियामा रहेको अपार सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिनु भएको छ ।

दक्षिण एसियामा आर्थिक सहयोग–साझेदारी प्रवद्र्धनसम्बन्धी सत्रलाई सम्बोधन गर्दै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहनु भएका ढकालले युवा जनसंख्याले धनी दक्षिण एसियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकियो भने अबको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दाबी समेत गर्नुभयो ।

सीआईआई साझेदारी सम्मेलनमा भाग लिन अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल गएको छ । कार्यक्रममा नेपालका उद्योग वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादव, भारतीय उद्योग वाणिज्य तथा नागरिक उड्डयनमन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको सहभागिता छ ।

सम्मेलनले यस क्षेत्रको आर्थिक समृद्धिका लागि ऐतिहासिक दिशानिर्देश गर्ने पनि उहाँले विश्वास प्रकट गर्नुभयो । सिंगो सार्क क्षेत्रलाई आर्थिक समृद्धिको अभियानमा एक ढिक्का बनाई लैजान आवश्यक भएको भन्दै यसका लागि यस क्षेत्रका सरकारलाई साझेदारीको रणनीतिमा काम गर्न समेत उहाँले सुझाव दिनुभयो ।

सार्क क्षेत्रका सवै राष्ट्रमा लगानी सम्भाव्यता प्रवल रहेको भन्दै सार्क उवासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीका लागि सम्भाव्यता रहेको र कतिपय क्षेत्र पहिचान समेत हुन नसकेकाले नेपालमा लगानी गरी फाइदा उठाउन यस क्षेत्रका उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले नेपालमा पर्यटन क्षेत्रमा लगानी गरी फाइदा उठाउन पनि उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्