फड्को मार्दै हिमपात साना किसान कृषि सहकारी



सीताराम चौधरी, कपिलवस्तु ।

हिमपात साना कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटास्थित हिमपात सहकारीले छोटो समयमै सबैको मन जित्न सफल भएको छ । वि.सं. २०७३ सालमा स्थापना भएको सहकारीले दोस्रो वर्ष पार गर्दा १ करोड ६५ लाख २१ हजार ६०३ रुपैयाँ बराबर आयव्यय सार्वजनिक गरेको छ । सहकारीमा हाल ७६ वटा समूहका ७सय ६ जना शेयर सदस्य रहेको अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो । बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षसुबेदीले आगामी बर्ष कृषि क्षेत्रमा करोडौं लगानी गर्ने योजना अघि सारेको उद्घोष गर्नुभयो । उहाँले आगामी वर्षका लागि ५ करोड ३३ लाख बराबरको प्रस्ताबित बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै उहाँले १२ जना कृषकले सहकारीबाट अनुदान लिई विभिन्न व्यवसाय संचालन गरेको जानकारी गराउनुभयो । आगामी बर्ष तरकारी खेती बिउ उत्पादन, दुध मासु उत्पादन लगायतको ब्यवसायका लागि २ करोड लगानी गरिने योजना ल्याएको उहाँले बताउनुभयो । यसका साथै ३सयलाई कृषि लगानी, दुध संकलन डेरी सञ्चालन गर्ने, चिस्यान केन्द्र निर्माण, कृषि बीमा लगायतका योजना रहेको सुबेदीले जनाउनुभयो ।

शिवराज नगरप्रमुख नेत्रराज अधिकारीले छोटो समयमै सहकारीले फड्को मार्दै साना किसानमा परिणत हुन सफल भएकोमा प्रशंसा व्यक्त गर्नुभयो । सहकारीका सदस्यहरुलाई उत्पादनमा लगानी गर्न सुझाव दिंदै नगरबाट हुनसक्ने सहयोग गर्ने नगरप्रमुख अधिकारीले प्रतिबद्धता जाहेर गर्नुभयो । कृषकलाई बजारीकरणमा समस्या नभएको औल्याउँदै उहाँले भन्नुभयो –“हरेक उत्पादन कृषि सहकारी संघले खरीद गर्छ, ठुक्क भएर लगानी गर्नुहोस् ।” सहकारीको भवनको लागि बिवाद नभएमा नगरपालिकाले जग्गाको लागि पहल गर्ने समेत उहाँले आश्वासन दिनुभयो । सुखी नेपाली, समृद्ध नेपालको अभियानमा सहकारीको ठूलो भूमिका रहेको बताउँदै समूहगत रुपमा नजरपालिकामा कृषि योजना लिएर आएमा नगरपालिका हरपल सहयोगको लागि तत्पर रहेकोले समेत उहाँले उद्घोष गर्नुभयो ।

कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य बसन्त अर्यालले नीति, विधि र पद्धति अनुसार अगाडि बढ्न सुझाव दिनुभयो । विचार फाट्यो भन्दैमा कार्यक्रम फाट्न नहुने बताउँदै उहाँले सहकारिताको माध्यमबाट एकताको भावना जागृत गर्नुपर्नेमा जोड दिनुभयो ।

केही सहकारीहरुले ऋण दिने तर कहाँ लगानी गरेको छ, वास्था नगर्ने, ब्याजको मात्र मतलव राख्ने गरेको उदाहरण दिंदै अब सहकारीले गरेको लगानी कृषिको क्षेत्रमै हुनुपर्ने बताउनुभयो । सहकारीको बचतले बर्तमानमा मात्र नभए भविष्यमा समेत सहारा बन्ने उहाँले औल्याउनुभयो । साना किसान सहकारीको उद्देश्य सहकारीबाट समूहगत कृषि गरेर आर्थिक उपार्जन गर्नु रहेको बताउँदै उहाँले उत्पादन भएका हरेक सामान बजारभाउको रेटमा कृषि सहकारी सस्थाले खरिद गर्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा शिवराज वडा नम्बर ५ का वडाध्यक्ष अर्जुन बहादुर पाण्डे, वडा नम्बर २ का वडाध्यक्ष राम बहादुर चौधरी, ब्यापार संघ कपिलबस्तुका महासचिव जगत पौडेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका सभापति बिष्णुप्रसाद खतिवडा, विष्णु प्रसाद पौडेल लगायतले साधारणसभा सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको अवसरमा उत्कृष्ट व्यवसायी, समूह अगुवा र असल ऋणि गरी ६ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्