एक्सनमा रणवीर



एक्शनले भरिपूर्ण फिल्म रणवीरको ट्रेलर रिलिज गरिएको छ। शुक्रबार सार्वजनिक ट्रेलरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकारबीचको टसल प्रमुखरूपमा देखाइएको छ। अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन्। फिल्मका सबैजसो कलाकार अटाइएको ट्रेलरमा एक्सनका साथमा केही प्रेमका दृश्य पनि समेटिएको छ।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक गोविन्दसिंह भण्डारीले हरिहर शर्मँ, टीका पहाडीजस्ता पुरानादेखि नयाँसम्मका कलाकारसँग काम गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको बताए। उनले फिल्म मनोरञ्जनपूर्ण बनेको दाबी पनि गरे। नायक सुशील सिटौलाले रणवीरमा काम शुरू गरेपछि भने त्यो भूमिका गर्न सक्छु कि सक्दिन भन्ने लागेको बताए। ‘मैले यस्तो काम अरु फिल्ममा गर्न पाएको थिइनँ’ –उनले भने। सुशीलले फिल्मका लागि शारीरिकरूपमा पनि आफूलाई परिवर्तन गरेको र १५ किलो वजन बढाएको बताए। नायिका सुभेक्षा खड्काले आफू रणवीरमा निर्देशकको भिजन मन परेकाले काम गरेको बताइन्। ‘फिल्ममा काम गर्दा रमाइलो भयो। हामीले मेहनत गरेअनुसार दर्शकले पनि माया र साथ दिनुहुनेछ भन्ने लाग्छ’ –उनले भनिन्।

अर्की कलाकार सुपुष्पा भट्टले यो फिल्मबाटै अभिनय के हो भन्ने सिक्ने अवसर पाएको बताइन्। अभिनेता प्रशान्त ताम्राकारले रणवीरमा पनि आफू नेगेटिभ पात्रका रूपमा काम गरेको खुलाउँदै सबैको मेहनतले नयाँ सोचमा फिल्म निर्माण भएको बताए। त्यसै गरी निर्माता निर्देशक तथा सो फिल्मका अभिनेता नरेश पौडेलले नयाँ पुस्तासँग काम गर्दा रमाइलो अनुभव भएको सुनाए।
फिल्मकी निर्मात्री गोमा विष्ट थापाले फिल्मले दर्शकको साथ पाउने विश्वास व्यक्त गरिन् भने निर्माता दीपेन्द्र रेग्मीले फिल्म रणवीर संघर्षशील बुबा र बेरोजगार छोराको कथा बोकेको तथा प्रेम माया र वियोगको वरिपरि घुमेको बताए।

आगामी माघ १८ गते रिलिज हुने फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशक गोविन्दसिंह भण्डारीकै रहेको छ भने फिल्मका अन्य कलाकरामा हरिहर शर्मा, टीका पहाडी, रवि गिरी, नरेश पौडेल, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदीश रिजाल, शैलेश्वरी सिंहलगायत रहेका छन्। फिल्ममा संगीत हर्कुलस बस्नेत, अमित श्रेष्ठ, राजनराज सिवाकोटी र सुसान्त गौतमको रहेको छ भने गीत हर्कुलस बस्नेत, सविन एकतारे, हर्क साउद र अमित श्रेष्ठको रहेको छ।

फिल्ममा गम्भीर विष्ट, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्