नागरिकता बनाउने सुविधा गाउँमै



दुर्गाप्रसाद शर्मा, पर्वत
नागरिकता बनाउँन सदरमुकाम आउँदा समय र आर्थिक खर्च बढी हुन्छ । बृद्ध र अशक्तहरु त अझै यही कारण नागरिकता नबनाई बसेका हुन्छन । नागरिकलाई गाउँमै सुबिधा दिने उद्देश्यले पर्वत जिल्ला प्रशासन कार्यालयले भने अभियानकै रुपमा घुम्ती शिबीरबाट नागरिकता दिन थालेको छ ।

नागरिकले घरदैलोमा नै सेवा पाउन सकुन भन्ने उद्देश्यले घरघरमै पुगेर नागरिकता दिन थालिएको हो । साउन यता पर्वतका विभिन्न गाउँमा सञ्चालित आठ वटा घुम्ती शिविरबाट ६ सय जना भन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतले स्थानीय तहको समन्वयमा सदरमुकाम सम्म नागरिकता बनाउनकै लागि आउन अपायक पर्ने स्थानहरुमा पुगेर शिविर सञ्चालन गर्दै आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘यसरी शिविर नै खडा गर्ने गरी गाउँमा नै पुगेपछि विविध कारणले लामो समय सम्म नागरिकता नपाएका व्यक्तिहरुलाई पनि नागरिकता वितरण गरिएको छ ।’ उनले भने ‘झण्झटिलो हुने डरले नागरिकता नलिइ बसेका ८० बर्ष उमेर पुगेका व्यक्तिहरुलाई पनि नागरिकता दिइएको छ’

सरकारले बर्षमा ४ वटा मात्रै घुम्ती शिबिर सञ्चालन गर्ने परिपत्र गरेपनि पर्वत प्रशासनले १२ स्थानमा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सञ्चालन गरेका आठ स्थानहरुमध्ये कुश्मा नगरपालिकाको १३ नं. वडा खौलालाँकुरी र फलेवास नगरपालिकाको २ नं. वडा थापाठानामा प्रतिलिपि नागरिकता सहितको घुम्ती शिविर सम्पन्न गरेको छ । यी दुई स्थानबाट मात्रै एक सय ९० नयाँ नागकिता र एक सय २७ प्रतिलिपि गरी तीन सय १६ नागरिकता प्रमाणपत्र वितरण गरिएको नागरिकता फाँटका नारायण पौडेलले जानकारी दिए ।

घुम्ती शिविरबाट ६ सय जनालाई नागरिकता

शिविर सञ्चालनका क्रममा मोदी गाउँपालिकामा ६८ जना, जलजला गाउँपालिकामा ६२ जना, विहादी गाउँपालिकामा एक सय नौ जना, महाशिला गाउँपालिकामा ५८ जना, फलेवास नगरपालिकामा दुई सय १४ जना र कुश्मा नगरपालिकामा एक सय १६ जनालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

विगतका बर्षमा बार्षिक रुपमा २ पटक सम्म घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिदै आएपनि पछिल्लो समयमा स्थानीय तहमा भौगोलिक दृष्टिकोणले अन्य भन्दा पिछडिएका स्थानहरुमा शिविर सञ्चालन गर्दै आएको प्रजिअ ढकालले बताए ।

गृह मन्त्रालयबाट बार्षिक रुपमा चार स्थानमा शिविर सञ्चालन गर्नुपर्ने भन्ने निर्देशन भएपनि ६ महिना भित्रै ८ स्थानमा शिविर सञ्चालन गरि सकिएको प्रजिअ ढकालले बताए । ढकाल प्रमुख जिल्ला अधिकारीका रुपमा आए सँगै शिविर सञ्चालन कार्यक्रमलाई तिब्रता दिइएको हो । शिविर सञ्चालन कै क्रममा तीन सय ८५ जनाको मतदाता नामावली संकलन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्