एकीकृत घुम्ती शिविरमा सेवा लिनेको भीड



नेपाल समाचारपत्र, नुवाकोट
जिल्ला प्रशासन कार्यालय नुवाकोटले शिवपुरी गाउपालिकाको शेराबगरमा शुक्रबार शुरु गरेको दुईदिने एकिकृत घुम्ती शिविरको पहिलो दिनमा सेवा लिन सर्वसाधारणको भीड लागेको छ ।

जिल्लाको सदरमुकाम बिदुरबाट प्रबाह गरिने सेवासुबिधा गाउँघरमा नै पाएपछि शिवपुरी गाउँपालिकाका स्थानियबासी हर्षित भएका छन । प्रत्येक जिल्लाको ४ ओटा स्थानीयतहमा एकिकृत घुम्ती शिबिर सञ्चालन गर्नेसरकारको निती र गृहमन्त्रालयले दिएको निर्देशन अनुसार गाउँपालिकाको शेराबगरमा घुम्ती शिबिर सञ्चालन गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले बताए ।

शिबिरमा जिल्ला प्रशासन कार्यलयले नयाँ नागरिकता वितरण, जिल्ला स्वास्थ्य कार्यलयको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण, जिल्ला निर्वाचन कार्यलयको फोटोसहितको मतदाता नामाबली संकलन,कृषि ज्ञान केन्द्र, तरकारी जोनको विउविजन वितरण तथा कृषि सम्बन्धि राय परामर्श,भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्रको सल्लाह प्रदान गरिएको छ । यस्तै घरेलु तथा साना उद्योग बिकास समितीबाट ब्यबसाय दर्ता तथा ईजाजत पत्र बितरण, नुवाकोट बिद्युत् बितरण केन्द्रबाट नयँका मिटर बितरण, डिभिजन बन कार्यालयबाट बन पैदाबार सम्बन्धि परामर्श, जिल्ला प्रहरी कार्यालयबाट सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबारे जानकारीसमेत प्रदान गरिएको छ ।

घुम्ती शिविरको उदुघाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले जनताले राज्यबाट पाउने सेवा गाउँगाउँमा पाउने अधिकारलाई कार्यान्पयन गर्न घुम्ती शिविर संचालन गरिएको बताए । त्यस्तै गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गाउँगाउँमा सिंहदरबारको अभ्यास अन्र्तगत गाउँपालिकामा सबै सेवा प्रदान गरिएको बताए । उनले चाडपर्वको रुपमा घुम्ती शिविर संचालन गर्न नहुने भन्दै सबै सेवा गाउँपालिकाबाट दिनुपर्ने बताए । त्यस्तै गाउँमै नागरिकता पाएपछि गाउँपालिकाका सुन्दर पाण्डेले खुशी व्यत्त गरे । उनले सदरमुकाममा गएर नागरिकता बनाउँदा पैसा र समय दुबै बर्बाद हुने भएकोले गाउँमै नागरिकता दुबैको बचत भएको बताए ।

जिल्ला प्रशासन कार्यलयका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माका अनुसार सरोकारवालाहरुसँगको आपसी समन्बयनमा स्थानीय तह छनौट गरी अब बाँकी २ वटा स्थानीय तहमा पनि छिट्टै एकिकृत घुम्ती शिबिर सञ्चालन गर्ने बताए । यसअघि किस्पाङ गाउँपालिकाको काउलेमा ४ र ५ गते घुम्ती शिविर संचालन भएको थियो । घुम्ती शिविरमा जिल्लामा रहेको १५ भन्दा बढी सरकारी कार्यलयले सेवा दिएका छन ।

प्रतिक्रिया दिनुहोस्