झिटीझाम्टा कस्दै समाज कल्याण परिषद्



नेपाल समाचारपत्र, काठमाडौं
उपराष्ट्रपतिको कार्यालय र निजी आवासको प्रयोजनका लागि समाज कल्याण परिषद्ले आफनै भवन र जग्गा छोडेर त्यसलाई खाली गराउनतिर लागेको छ ।
परिषद्ले कार्यालयका सरसामान सार्नका लागि तयारी गरिरहेको परिषद्का कायममुकायम निर्देशक हरि तिवारीले बताउनुभयो । ‘हामी अफिस सार्न भिटीझाम्टा कस्दै छौँ–सर्ने ठाउँ पनि तयारी भइरहेको छ’ –उहाँले भन्नुभयो । उहाँका अनुसार माघको १५ गतेभित्र परिषद् सरिसक्ने भएको छ ।

परिषद्को कार्यालय पुल्चोकस्थित केन्द्रीय बाल कल्याण समितिको कार्यालयमा सर्ने र त्यहाँ नअटाएका शाखाहरु भृकुटी मण्डपमा रहेको परिषद्को आफ्नै कार्यालयमा सार्ने तयारी गरेको परिषद्ले जनाएको छ ।
परिषद्ले आफ्नो कार्यालय नबनेसम्मका लागि नियमित कार्यालय सञ्चालनका लागि अस्थायी रुपमा कार्यालयमा सार्न लागिएको परिषद्का कामु निर्देशक तिवारीले बताउनुभयो । ‘कार्यालय सार्ने र नियमित कार्यालय सञ्चालन गर्ने काम आफ्नै कार्यालय भवन नबनुन्जेल अस्थायी रुपमा हुनेछ’, उहाँले भन्नुभयो– ‘हाम्रो भवन बनाउने कामको योजना बन्दै छ ।’

पुल्चोकस्थित केन्द्रीय बाल कल्याण समितिको नयाँ भवन र भृकुटीमण्डपको आफ्नै भवनमा सर्दै परिषद्

परिषद्ले बानेश्वर भीमसेनगोलामा रहेको आफ्नै जग्गामा भवन बनाइदिन सरकारलाई आग्रह गरेको छ । परिषद्बाट बनाएको उपसमितिले त्यहाँ भवन बनाउन सिफारिस समेत गरेको छ । सरकारले त्यहाँ भवन बनाएर हस्तान्तरण नगरुन्जेल परिषद् समितिकै भवनमा रहने परिषद्ले जनाएको छ ।

समिति भने पुल्चोककै महिला विभागको कार्यालयसँगै सर्ने सहमति भएको परिषद्ले जनाएको छ । लैनचौरस्थित समाजकल्याण परिषद्को भवन र जग्गा उपराष्ट्रपतिका कार्यालय र निजी आवास प्रयोजनका लागि दिने सरकारले यसअघि नै निर्णय गरेको थियो । तर परिषद्का कर्मचारी तथा पदाधिकारीको आन्दोलनले गर्दा सरकारको उक्त निर्णय कार्यान्वयनमा आउन सकिरहेको थिएन ।

परिषद्को पछिल्लो कदमले भने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको छ । परिषद्को उक्त भवन र जग्गा अब उपराष्ट्रपतिको कार्यालय र निजी आवासका लागि प्रयोग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्