विकास र समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष दाहाल



गोरखा,  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिको कार्यसूची पूरा गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

गोरखाको आरुघाटमा आज आयोजित दोस्रो आरुघाट महोत्सवको उद्घाटन गर्नुहँुदै अध्यक्ष दाहालले नेपालमा ७० वर्ष लामो सङ्घर्षपछि प्राप्त राजनीतिक स्थायित्व राजनीतिक सहमतिका कारण नै सम्भव भएको भन्दै अब विकास र समृद्धि पनि राष्ट्रिय सहमतिबाट पूरा गर्न सकिने बताउनुभयो ।

“विश्वमै उत्कृष्ठ मौलिक हक अधिकार भएको संविधान सहमतिबाट बनाउन सफल भयौँ” अध्यक्ष दाहालले भन्नुभयो, “तीनवटै तहको निर्वाचन पनि सहमतिबाट सम्भव भयो, अब विकास र समृद्धिको एजेण्डा पनि राष्ट्रिय सहमतिबाट पूरा गर्न सकिन्छ ।” काम गर्दै जाँदा हुने कमीकमजोरी सच्याउँदै जान आफूहरु तयार रहेको भन्दै उहाँले समृद्धिको अभियानमा हातेमालो गर्न काङ्ग्रेसलाई आग्रह गर्नुभयो । “विकास र समृद्धिको लागि सहमति गर्न हामी तयार छौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम कसैले रोकेर नरोकिने बताउनुभयो । उहाँले बुढीगण्डकी बहुउद्देश्यीय जलासययुक्तबाट सिङ्गो नेपाली जनताले लाभ लिन सक्ने भन्दै आयोजना निर्माणको काम तत्काल अघि बढ्ने बताउनुभयो ।

बुढीगण्डकी आयोजनाको डुुबान क्षेत्रका प्रभावितलाई मुअब्जा वितरण यसै वर्ष सक्ने गरी सरकारले काम अघि बढाएको उहाँको भनाइ छ । अध्यक्ष दाहालले मुअब्जा निर्धारण हुन बाँकी रहेको गोरखा र धादिङको आरुघाट र खहरे बजार क्षेत्रको तत्काल उचित मुअब्जा निर्धारण हुने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्