तीन पुस्ताको अनुभवमा इन्जिनियरिङ वर्कसप



रोशन पराजुली, हेटौंडा
२०२४ सालमा हेटौंडाको टीसीएन रोडमा एउटा पसल खुल्यो। पसलको नाम हो– प्रतापसिंह इन्जिनियरिङ वर्कसप प्रालि। पसल सञ्चालन गरेका थिए स्व। प्रतापसिंह रानाभाटले।

करिब ५१ वर्ष एउटै ठाउँमा सञ्चालनमा आएको पसलमा गाडीको इन्जिनदेखि कृषि औजार सामग्रीहरू, हेभी इक्युप्मेन्ट तथा औद्योगिक क्षेत्रका सामग्री मर्मतसँगै नयाँ सामान पाइन्छ। यो यस्तो पेसा हो, जुन अनुभवले चल्यो। देशकै केन्द्र हेटौंडा भएर चल्ने सवारीसाधनका लागि यो पसल साच्चै वरदान थियो। किनभने सवारीसाधन बिग्रिहाल्यो भने विकल्पमा कि नारायणगढ कि त काठमाडौं मात्र थियो।

त्यसकारण पनि प्रतापसिंह इन्जिनियरिङ वर्कसप व्यावसायिक पसलमात्र होइन, सेवा भावना बोकेको पसल हो भन्दा फरक पर्दैन। बुबा प्रतापसिंहले आफ्नो अनुभवले चलाएको पसललाई छोरा सोभानसिंह रानाभाटले उत्तिकै सहयोग दिएका थिए।

बुबाको अनुभवले तिखारिएको पसलबाट छोरा प्रतापसिंह रानाभाटले इन्जिनियरिङ अध्ययन गरे। पसल चलाएर छोरालाई पढाएर इन्जिनियर बनाउने बाबुका लागि कम्तिको खुसी कुरा थिएन। प्रतापसिंह रानाभाट धेरै खुसी भए। तर, उनले खुसी धेरै साट्न पाएनन्। आफ्ना अनुभव छोरालाई हस्तान्तरण गर्दै उनी संसारबाट बिदा भए।

बाबुको बिँडो थाम्न थालेका छोरा सोभानसिंहले सेवामा कमी गरेनन्। पेसाले उनी इन्जिनियर भएका कारण उनलाई सहज भयो। अन्ततः सोभानसिंह पनि संसारबाट बिदा भए। अब पसल सञ्चालन गर्ने जिम्मेवारी तेस्रो पुस्तामा हस्तान्तरण भयो। हजुरबुबाको पालादेखि सञ्चालनमा आएको पसल बचाउन उनीहरूले कम मेहनत गरेका छैनन्।

हाल पनि ठूला सवारीसाधन भनौं वा कलकारखानाका मेसिन बिग्रियो भने प्रतापसिंह इन्जिनियरिङ पुगे हुन्छ, जहाँ पुराना हेभी गाडीका सामग्री पाइन्छ, मर्मत गरिन्छ। पसलमा तीन पुस्ताको अनुभव जोडिएको छ। पसललाई माहिला छोरा प्रदीपसिंह रानाभाटले सम्हाल्दै आएका छन्। प्रदीप भन्छन्– ‘बाबुबाजेले गर्दै आएको पेसा छाड्न सकिएन। उहाँहरूको सम्झना र अनुभवले भए पनि पसल सञ्चालित छ।’
उनले एउटा इतिहास बोकेको पसल भएका कारण आफ्ना सन्ततिमा पनि अनुभव साटिसकेको बताए। हाल मेनपावरको कमी छ तर पनि मकवानपुरबासीमा सेवा दिन पसलले भूमिका खेलेकै छ। तेस्रो पुस्तासम्म एउटै पसल सञ्चालनमा ल्याइराख्नु चानचुने कुरा होइन। सबैका आ–आफ्नै पेसा हुन्छन्, जुन पेसा अपनाए पनि निरन्तरता हुनु ठूलो कुरा रहेको उनको भनाइ छ।

मकवानपुर उद्योग वाणिज्य संघको ५२औं साधारणसभामा माधवराज सुमार्गी स्मृति व्यावसायिक सम्मान–२०७५ बाट सम्मानित हुनेमध्ये एक व्यवसाय हो– प्रतापसिंह इन्जिनियरिङ वर्कसप।

प्रतिक्रिया दिनुहोस्