गोल्डेन ग्लोबबाट हलिउडमा अवार्डको मौसम शुरू



ग्रिन बुक सर्वाधिक ३ अवार्डको विजेता

हलिउडको महŒवपूर्ण अवार्डका रूपमा हेरिएको गोल्डेन ग्लोब अवार्डसको ७६औं संस्करण सम्पन्न भएको छ। यो अवार्डसँगै हलिउडमा अवार्डको मौसम पनि शुरू भएको छ।

यसपटक क्यालिफोर्नियामा आयोजना गरिएको अवार्ड समारोहमा वर्ष सन् २०१८ का उत्कृष्ट फिल्म र टेलिभिजनका विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ। समारोहमा फिल्म ग्रिन बुकले उत्कृष्ट म्युजिकल कमेडी फिल्मसहित सहअभिनेता र पटकथा गरी सर्वाधिक ३ अवार्ड चुमेको छ। उत्कृष्ट मोसन पिक्चर ड्रामातर्फको अवार्ड फिल्म बोहिमेन ¥याप्योडिसले जितेको अवार्ड समारोहमा यही फिल्मबाट रमी मालेकले अभिनेताको अवार्ड जितेका छन्। अभिनेतृको अवार्ड भने ग्लेन क्लोजले द वाइफबाट जितेकी छिन्।

हलिउड फिल्म उद्योगमा आफ्नो योगदानका लागि प्रदान गरिएको सेसिल बी अथवा लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष अभिनेता जेफ ब्रिसेसलाई प्रदान गरिएको छ। अभिनेतृ क्यारोल बर्नेटको योगदानको कदर गर्दै उनलाई हलिउड फरेन प्रेस एसोसियसनले पहिलोपटक टेलिभिजन लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरेको छ। जुन अबदेखि हरेक वर्ष प्रदान गरिनेछ। मोसन पिक्चर म्युजिकल कमेडीतर्फ उत्कृष्ट निर्देशकको अवार्ड अल्फासो क्युरोले फिल्म रोमाबाट चुम्दा अभिनेताको अवार्ड क्रिस्चियन बेलले फिल्म वाइजबाट र अभिनेतृको अवार्ड ओलिभिया कोलम्यानले द फेवरेटबाट जितेकी छिन्।

सहअभिनेतृको अवार्ड रेजिना किङले फिल्म इफ बिल स्ट्रिट कुड टकबाट जितेकी छिन् भने ओरिजिनल स्कोरको अवार्ड जस्टिन हुरविट्जले फिल्म फस्टम्यानबाट जितेका छन्। समारोहमा उत्कृष्ट गीतको अवार्ड अ स्टार इज बर्न फिल्मको स्यालो बोलको गीतबाट यही फिल्मकी नायिका तथा गायिका लेडी गागाले जितेकी छिन्। यो अवार्ड जित्दा उनी भावुक हुन पुगेकी थिइन्। ब्लु कलरको स्टाइलिस गाउनमा सजिएर अवार्ड समारोहको रेड कार्पेटमा उनले विशेष चर्चा कमाएकी थिइन्। जहाँ उनले ५ मिलियन डलरको हीराको हार पहिरिएर गएकी थिइन्। उनले अवार्ड जितेपछि संगीत जगत्मा महिलालाई गम्भीरतापूर्वक लान जरुरी भएको बताएकी थिइन्।

त्यस्तै विदेशी भाषाको फिल्मको अवार्ड मेक्सिकन फिल्म रोमाले जित्दा उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड इन्टु द स्पाइडर वर्सले जितेको छ। टेलिभिजन सिरिजतर्फ द अमेरिकन्स, द असेसिनेसन अफ जियानी भर्सेस र द कोमिन्सकोए मेथडले उत्कृष्ट टेलिभिजन सिरिजको अवार्ड जितेको छ। अभिनेताको अवार्ड रिचर्ड मेडनले बडीगार्डबाट, माइकल डगलसले द कोमिनस्कोए मेथडबाट र डेरेन क्रिसले द असेसिनेसन अफ जियानी भर्सेसबाट चुमेका छन्। अभिनेतृको अवार्ड सेन्ड्रा ओहले किलिङ इभबाट, रेचल ब्रोस्नाहले द मार्भलस मिसेस मेसलबाट र पोर्टिसिया आक्वेटले इस्केप फ्रम डेनमारोबाट चुमेकी छन्। सहअभिनेताको अवार्ड बेन विशाले अ भेरी इग्लिस स्क्यान्डलबाट पाएकोमा सहअभिनेतृको अवार्ड पयाट्रिसिया क्लार्कसनले सार्प अब्जेक्टसबाट जितेकी छिन्।

अवार्ड समारोहमाा विजेताहरूलाई प्रदान गरिने ट्रफिको स्वरूप यस वर्ष केही परिमार्जित गरी नयाँ रूपमा प्रस्तुत गरिएको छ। जुन पहिलेको भन्दा केही पातलो र लामो स्वरूपमा छ भने यसमा अवार्ड विजेताको नाम, विधालगायत विवरण भएको डिजिटल एलिमेन्ट पनि जडान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्