छाउगोठमा आगलागी, एकै परिवारका तीनको मृत्यु



दयाराम पण्डित, बाजुरा
एकाविहानै छाउगोठमा तीन आमा छोराको मृत्युको खबरले बुधबार बुढीनन्दा नगरपालिकासहित बाजुरा शोकाकुल बनेको छ । बाजुराको बुढीनन्दा नगरपालिका–९ साविकको पाण्डुसैन गाविसको भुगेचौरमा छाउगोठमा निसास्सिएर एकै परिवारका तीन जनाको मंगलबार राति ज्यान गएको हो ।

महिनावारी भएपछि तीन दिनदेखि छाउ बार्न नजिकैको गोठमा सरेकी ३५ वर्षीया अम्बा बोहोरासहित उनका दुई छोरा १२ वर्षका सुरेश र ९ वर्षका रमितको सो गोठमा निसास्सिएर मृत्यु भएको हो । पुस महिनाको कठ्याङ्ग्रिदो जाडो छल्नका लागि बोहोराले गोठमा आगो बालेको र गोठमा भएको धूवाँ बाहिर जान नसकेपछि दुई छोरासहित आमाको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाटले बताउनुभएको छ । मृतक बोराका पति कामको खोजीमा भारत गएको पारिवारिक स्रोतले जनाएको छ ।

‘गोठको सानो चुलोमा आगो बालिएको थियो र उनीहरुको खुट्टातिरको भाग जलेको छ त्यसो प्रकृति हेर्दा निसास्सिएरै मृत्यु भएको हुन सक्छ’ – घटनास्थलमा पुगेका स्थानीय महेश कार्कीले बताउनुभएको छ । छाउपडी प्रथा अन्त्यका लागि जिल्लामा विभिन्न प्रकारका प्रयास गरिएको भए पनि यो घटनाले ती प्रयास असफल भएको पिसविन बाजुराका परियोजनाका अधिकृत जयलाल विकले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा छाउपडी प्रथा विगत लामो समयदेखि कु–प्रथाका रुपमा कायमै रहेको छ । छाउपडी जस्तो दण्डनीय कामको अन्त्यका लागि राज्य र गैरसरकारी तवरबाट भएका प्रयास बालुवामा पानी हालेसरह भएको पूर्वमहिला तथा बालबालिका कार्यालयका अधिकृत तथा नागरिक अधिकारकर्मी सर्पलाल गिरीले प्रतिक्रिया दिनुभएको छ ।

बाजुराका नौवटै स्थानीय तहमा छाउपडी प्रथा कायमै छ । महिनावारी भएको बेला गोठ छानामा बस्नुपर्ने बाध्यता छ । अझ महिनावारी महिलाले पशुचौपाया छुन नपाउने पानी पँधेरो जाँदा ढुंगा विच्छ्याएर हिँड्नुपर्ने चलन कायम छ । महिनवारी हुँदा सर्पदशं हुने, वलात्कृत हुने, जंगली जनावरको आक्रमणमा पर्नुपर्ने समस्या रहेको महिला अधिकारकर्मी एबं खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष कुन्ती बुढाले वताउनुभयो । उहाँले छाउपडी प्रथा विगतको भन्दा केही कमी भएको तर निर्मूल नभएको बताउनुभएको छ । अब स्थानीय तहबाट नीतिगतरुपमा व्यवस्था गरी अभियान चलाउनुपर्ने उपाध्यक्ष बुढाको भनाइ छ ।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिताले छाउपडी प्रथालाई दण्डनीय मानेको छ । तर, सरकारी तवरबाट छाउपडीजस्तो कु–प्रथाको अन्त्य गर्न प्रभावकारी कमद नचालिँदा नागरिकको चेतनामा परिर्वतन भएको छैन यसको प्रभाव ग्रामीण क्षेत्रमा बढि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्