निर्मलाकी आमाले डीएनए परिक्षणका लागि रगत दिइन, बुवाले मानेनन्



मनोज भट्ट, महेन्द्रनगर ।
पाँच महिना अगाडि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानमा रहेको नेपाल प्रहरीले उनकी आमाको रगत संकलन गरेको छ ।

निर्मलाकी आमा दुर्गादेविको बुधवार साँझ डीएनए परिक्षणका लागि रगत संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नी छोरीको न्यायको लागि धर्नामा रहेकी आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले भने, ‘अनुसन्धान साँघुरिदै आएको छ, हामीले अनुसन्धानका लागि निर्मलाका आमाबुवाको रगत संकलन गर्न भनेका थियौँ, आमा राजी हुनु भयो, रगत संकलन गरिएको छ ।’

घटना भएको पाँच महिना भन्दा बढि समय भैसक्दा पनि अपराधी पहिचान नभइरहेको अवस्थामा विभिन्न आशंका उत्पन्न भएका छन् ।

घटनाको अनुसन्धानका क्रममा धेरैको डीएनए परिक्षण गरिएको छ, तर कसैको पनि डीएनए रिपोर्ट निर्मलाको ‘भजाइनल स्वाब’ संग मिलेको छैन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि प्रश्न उठेको छ ।

निर्मलाको शवबाट निकालिएकोे ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको रगत संकलन गरिएको बुझिएको छ । अब दुर्गादेवीको रगतबाट निकालिने डीएनएसँग निर्मलाको स्वाबको डीएनए प्रोफाइललाई भिडाएर वैधानिकता जाँचिने स्रोत बताउँछ ।

तर, निर्मलाका बाबु यज्ञराज पन्तले आफ्नो मान्छेसँग सल्लाह गरेर रगतको नमुना दिने बताए । ‘मैले डिएनएमा शंका गरेको पनि होइन, माग पनि गरेको थिएन,‘उनले भने, ‘मैले माग गरेको होइन् अधिकारकर्मी मीना भण्डारीले गरेको हो ।’

आफ्ना मान्छेसँग सल्लाह गरेर रगतको नमुना दिने यज्ञराजले बताए । रगतको नमुनाको विषयमा निर्मलाका आमाबाबुबीच विवाद देखिए छ । आमाले दिने, बाबुले नदिने भएपछि विवाद सतहमै देखिएको हो । दुर्गाले हिजो मात्रै श्रीमानसँग रगत दिने विषयमा सल्लाह गरेपनि श्रीमानले रगत दिन नमानेको बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्