सांसद्का पीएको खाता खोल्न सुरु, एभरेष्टसँगै किन हुन्छ कारोबार ?



गंगा बराल काठमाडौं । सांसदहरूले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न सुरु गरेको छ ।

यसका लागि फाराम भराउन थालिएको र सांसदहरु नै पीए लिएर फारम भर्न आउने गरेको उक्त शाखाका उपसचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले सकेसम्म यसपालिदेखि पीएको तलब बैंक खातामा पठाउने प्रयास गरिएको बताउनुभयो । सिंहदरवारभित्रै रहेको एभरेष्ट बैंकसँग सचिवालयको कारोबार हुने गरेको छ ।

दुई वर्षअघि नै पीएको खाता खोल्नुपर्ने व्यवस्था गरिएको थियो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा व्यवस्था हुँदाहुँदै पनि सचिवालयले खाता नखोलिदिएर आफूहरुको बद्नाम गराएको सांसदहरुको आरोप छ ।
व्यवस्थापिका–संसद्ले बनाई २०७३ पौष ७ गते नै प्रमाणीकरण भएको उक्त ऐनमा स्वकीय सचिवालयका कर्मचारीहरुले पाउने पारिश्रमिक निजहरुको बैंक खातामा उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

केही सांसदले आफन्तलाई पीए बनाएका छन् । पीएले शाखा अधिकृतको तलब बराबर ३० हजार ५ सय रुपियाँ पाउँदै आएका छन् । पीएको लागि भने शाखा अधिकृत बराबरको योग्यता तोकिएको छैन । सांसदको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपियाँ रहेको छ भने यसबाहेक अन्य सुविधा पनि पाउँछन् । उपत्यकामा घर नभएका सांसद् घरभाडाबापत १८ हजार र घर भएकाले ९ हजार रुपियाँ मात्र पाउँछन् ।

सामान्य अवस्थामा शाखाले २३÷२४ गतेतिर प्रत्येक महिनाको तलब बैंक खातामा पठाइदिने गरेको थियो तर यसपालि तलब पठाएको छैन ।

समिति सभापतिले राज्यमन्त्रीसरहको सुबिधा पाउँछन् । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको मासिक पारिश्रमिक ६७ हजार ३ सय २० रुपियाँ हुने गरेको छ । सचिवालय व्यवस्थापनसहित उनीहरुले मासिक ३ लाख १ हजार ३ सय ६५ रुपियाँ पाउँछन् ।

सांसदले बैठकबापत प्रतिदिन २ हजार रुपियाँ पाउँछन् । समितिमा भाग लिएबापत पनि २ हजार रुपियाँ नै पाउने व्यवस्था छ । तर एकैदिन समिति र संसद् बैठक बसेको भए दोहोरो सुबिधा पाउने छैनन् । सबेर र अबेर समिति बैठक भए ४ सय रुपियाँ थप पाउँछन् तर रातीसम्म वा बिहानै संसद् बैठक बस्दा ४ सय रुपियाँ थप दिने व्यवस्था छैन । केही सांसदहरुले आफूले संसद् सचिवालयमा भरेको फारमअनुसार बैंक खातामा पैसा नहालिदिएकाले आलोचना भएको बताएका छन् ।

हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामाले घरभाडाबापत १८ हजार लिएको भनेर आफ्नो बद्नाम गरिएको बताउनुभयो । लामा २०४८ सालमा जनमोर्चाबाट सांसद र राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री बन्नुभएको थियो । उहाँले आफ्नो पीएको नाममा आएको तलबले ४ जना विद्यार्थीलाई ७ हजार रुपियाँका दरले मासिक खर्च उपलब्ध गराएको दावी गर्नुभयो ।
मोरङ–१ बाट निर्वाचित नेकपा सांसद घनश्याम खतिवडाले पीएका लागि आउने तलब क्षेत्रमा १ जना र काठमाडौंमा १ जना गरी २ जनालाई दिएको बताउनुभयो ।

उदयपुर–२ बाट निर्वाचित नेकपाका सांसद् सुरेशकुमार राईले क्षेत्रमा भएका पीएलाई २५ हजार र काठमाडौंमा रहेका पीएलाई ५ हजार दिएको बताउनुभयो ।

सांसद मन्त्री भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै तलब खुवाउने गरेको छ । कतिपय अवस्थामा मन्त्री र सांसद दुवै हैसियतले तलब जाने गरेकाले सचिवालयले हिसाव मिलान गराउने गरेको छ ।
यसैबीच सांसद्हरुले एभरेष्ट बैंकसँगै बाध्य भएर कारोबार गर्नुपरेकोमा आपत्ति जनाएका छन् ।

सांसद राईले संसद् सचिवालयले एभरेष्ट बैंकसँग मात्रै किन कारोबार गर्छ भन्ने बुझ्न नसकिएको बताउँदै भन्नुभयो–‘निजी बैैँकलाई किन यसरी जिम्मा दिइयो, यसमा पनि आशंका छ । सरकारी स्वामित्वमा रहेको बैँकमा पो कारोबार गरिनुपर्छ ।’ राईको तर्कमा सांसद्हरु घनश्याम खतिवडा, कृष्णगोपाल श्रेष्ठलगायतको पनि समर्थन छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअघि रहेको सर्भिस सेन्टरमा एभरेष्ट बैंकको कार्यालय छ । संघीय संसद्का सांसदलाई पनि यही बैंकको खाताबाट तलब पठाउने गरिएको छ । कतिपय सांसदहरुले बैँकले सूचना बाहिर ल्याएको र सूचना चुहाएको आरोप पनि लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्