गठ्ठाघरमा कालिमाटी पछिको दोश्रो ठूलो तरकारी बजार स्थापना



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको गठ्ठाघरमा काठमाडौंको कालिमाटी पछिको दोश्रो ठूलो तरकारी बजार स्थापना भएको छ । जिल्लाकै पहिलो ठूलो तरकारी तथा फलफुल वजार माघ १ गतेदेखि संचालनमा आउने भएको छ । बिभिन्न क्षेत्रमा पहिचान बनाएका नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवा नेता श्यामसुन्दर बस्नेतले मध्यपुरथिमि नगरपालिका ३ मा भक्तपुरकै पहिलो व्यवस्थित र ठूलो तरकारी बजार संचालनमा ल्याउन लाग्नु भएको हो । करिव ६ करोड ५० लाख रुपैयाको लागतमा निर्माण भइरहेको वजार ८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

संचालक बस्नेतका अनुसार, व्यवसायी तथा उपभोक्ताको सुविधाका लागि तरकारी बजारमा छुट्टै २ रोपनी क्षेत्रफलमा पार्किङ्ग समेतको व्यबस्था गरिएको छ । सूर्य्विनायक नगरपालिका वार्ड नं.–२ बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमा नानुले अथक मिहेनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले १० मा किनेर एक किलोमिटरको दुरीमा अवस्थित गठ्ठाघरमा लगेर ३० रुपियाँमा बिक्री गरेको देखेपछि बस्नेत बिचौलियाको अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माणमा जुट्नु भएको हो ।

मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्य्विनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जानसक्ने गरि दुईतर्फी सडक विस्तार गरी बस्नेतले १ सय ३० वटा सटर र १ सय ५० स्टल गरी २ सय ८० वटा तरकारी पसल रहने गरि तरकारी बजार निर्माण गरिएको छ । नेपालीहरुको चाड माघे संग्रान्तिमा स्थानीयलाई सर्वसुलभ रुपमा तरुल उपलव्ध गराएर तरकारी तथा फलफुल वजारको प्रचार प्रसार गर्न पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री सुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउँने गरि संचालन गरिने सञ्चालक बस्नेतले बताउँनु भयो ।

सञ्चालक बस्नेतका अनुसार, वजारमा करिव ७० प्रतिशत सटर स्टल बुकिङ्ग भइसकेको छ । कृषकलाई बजार खोज्न नपर्ने र बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित स्थापना गरिएको बताउँदै बस्नेतले भन्नुभयो–“म राजनीतिक मात्रै होईन सामाजिक मान्छे पनि हुँ, कृषकले मरिमरि गरेको मिहेनत र दुःखको मूल्य नतिर्ने र बिना लगानी ३०० प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित मैले बजार संचालनमा ल्याएको हुँ ।” बस्नेतका अनुसार, कालिमाटी र बल्खु लगायका अन्य तरकारी बजार भन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनत अनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी संकलन गर्ने व्यबस्था गरिएको छ ।

जिल्लाका चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेका तरकारी संकलन गर्न पुराना १६ वटा गाउँविकास समिति र दुई नगरमा गरी १८ स्थानमा तरकारी संकलन केन्द्र खोलेर तरकारी संकलन गरिने बस्नेतले बताउँनु भयो । बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफुल, दुर्गम गाउँमा उत्पादन बिभिन्न प्रकारका तरकारी, पिठो, जिउदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामाग्रीदेखि व्यापारीलाई कारोबार गर्न सहज हुनेगरि सहकारी संस्था समेत संचालन गरिने भएको छ । बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउँन तरकारी बजार प्रवेश गर्न दुई वटा मुख्यद्वारमा र बजार भित्र २४ सै घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छभने बजार भित्र १८ वटा सिसी क्यामेरा जडान गरिने छ ।

२०५२ सालदेखि विद्यार्थी राजनीति सुरु गरेर तत्कालिन एमाले भक्तपुरको प्रचार विभाग प्रमुख हुदै हाल नेकपाको जिल्ला कमिटी सदस्यको रुपमा राजनीतिमा सक्रीय बस्नेत विगत १८ वर्षदेखि कृषि पेशामा समेत संलग्न रहदै आउनु भएको थियो । हाल जिल्ला खेलकुद विकास समिति भक्तपुरको उपाध्यक्ष, हाम्रो प्रयास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, गठ्ठाघरस्थित सि.भि.एम स्कूलको व्यवस्थापन समिति अध्यक्ष, भादगाउँ न्यूज साप्ताहिकका प्रकाशक एवं सम्पादक समेत रहेर काम गर्दै आउनु भएका बस्नेत राजनीतिमा सक्रिय रहेकाले पनि व्यबसाय सुरु गर्दा युवाहरुलाई रोजगारसी समेत दिन सकिने बताउनुहुन्छ ।

तरकारी बजार र संकलन केन्द्रमा प्रत्यक्ष १५० भन्दा बढी कलेज पढ्ने विद्यार्थी तथा युवालाई आफूले रोजगारी दिने र प्रत्येक पसलमा समेत गरी करिब ८०० जनाले प्रत्यक्ष अप्रत्क्ष रोजगारी पाउँने संचालक बस्नेतको भनाई छ

प्रतिक्रिया दिनुहोस्