गरीबीमा हुर्केका मेनी पक्याउ



कविरस शर्मा
चरम अभाव र गरीबीमा हुर्केका थिए उनी । फिलिपिन्सको विकट ठाउँमा जन्मेका उनले बांच्नका लागि निक्कै संघर्षपूर्ण जीवनयापन गरेका थिए ।

बाल्यकालका कयौं दिन त भोको पेट हुन्थे भने केवल दैनिक एकपटक मात्र खानु उनको दिनचर्या बनेको थियो । खाना नहुँदा कयौं पटक त पानी पिएर मात्र भएपनि आफ्नो पेट भरेका थिए उनले । सडक पेटिमा कागजका बाकसलाई ओछ्यान बनाएर सुतेका उनी अहिले धनाढ्य खेलाडीका रुपमा परिचित छन् ।

उनी कोही नभएर विश्व खेलकुद जगतका जानीमानी बक्सर मेनी पक्याउ हुन् । पक्याउ ब्यवसायिक बक्सिंगको बिभिन्न आठ वटा तौल डिभिजनका एकमात्र विजेता हुन् ।

५ वर्षको कलिलो उमेरमै उनले माछा मार्नका लागि प्रयोग हुने डुंगामा काम गर्नृुपरेका थिए । तर सानैदेखि उनको आँखाले ठूलो सपना देखेको थियो । जसलाई उनले भाग्यले होइन, आफ्नो कडा मेहनतले सार्थकता दिएरै छाडे । ब्यवसायिक बक्सिंग रिंगमा उनले ‘मै हुँ ‘ भन्ने एक से एक धुरन्धर मुक्केबाजलाई धूलो चटाएका छन् ।

उनले जीवनमा पहिलो पटक आफ्नो परिवारलाई गरीब र फोहोरी भनेर गिज्याउनेलाई पिटेका थिए । उनले एकै मुक्कामा उक्त ब्यक्तिलाई भुईँमा ढालेका थिए । जुन उनको पहिलो फाइट समेत थियो । बक्सिंग रिंगमा टेक्नु अघि नै आफु लडाकू रहेको भनेर उनले विभिन्न सञ्चार माध्यमहरुमा भन्ने गर्छन् । उनले ब्यवसायिक बक्सर भएकोले मात्र झगडा गर्नु नभई त्यसअघि नै आफू लडाकू रहेको बताउने गरेका छन् ।

उनले आफ्नो करियरको सुरुवातको विषयमा बोल्दा विश्व चर्चित मार्सल आर्टका नायक बु्रस लीको नामलाई कहिल्यै छुटाउने गर्दैनन् । वास्तवमा बु्रसलीका ‘डाई हार्ड‘ फ्यान हुन् मेनी । ब्रुस लीका चलचित्रबाट प्रभावित भएर नै बक्सिंगमा आकर्षित भएको उनले बताउने गरेका छन् । जुन उनको करियरको टर्निंग प्याइन्ट समेत बन्यो । उनले पनि ब्रुस ली झैं शक्तिशाली र तीब्र गतिका मुक्काहरुको नक्कल गर्ने प्रयास गर्थे । आफ्नो वासस्थान वरपर रहेका केराको रुखमा मुक्का र लात वर्षाएर उनले प्रशिक्षण सुरु गरेका थिए ।

ब्रुस लीको नक्कल गरेर प्रशिक्षण गर्नु उनमा पागलपन चढेको थियो । तर आवश्यक पौष्टिक आहारको अभावका कारण भने उनको शरीरमा मांसपेंसीको विकास हुन सकेको थिएन । ब्यायाममा लगाव भएपनि सही बनावटको अभाव प्रष्टिन्थ्यो उनको शरीरमा । सानो कदका भएपनि धेरै दुब्लो थिए उनी । तर शरीर धेरै ठूलो नभए पनि ढृढ़ संकल्पलाई ठूलो औजार मान्थे उनी ।

१२ वर्षको छँदा सर्दो नाम गरेका अंकलको नजरमा परेका थिए उनी । बक्सिंगको ज्ञान भएपनि सर्दो एक अनुभवबिहीन प्रशिक्षक थिए । तर उनले मेनीलाई बक्सिंग खेलका बारेमा धेरै कुरा बताएका थिए । सर्दोले मेनीको आँखामा धैर्य र सफलताको भोक देखेका थिए । जसलाई उनले मेनीको सफलताको सिंढी बनाउन चाहन्थे ।

सोही अनुरूप उनले मेनीलाई प्रशिक्षणमार्फत् तिखार्दै लगे । मेनी बिहान सबेरै उठ्थे । हरेक बिहान ४ बजे नै उनले जगिङ गर्न सुरु गरिसक्थे । पन्चिंगका लागि उनले कार्डबोर्डको बाकसमा कपडाहरू कोचाएर घरेलु पन्चिंग ब्याग तयार पारेका थिए ।

‘सजिलो प्रशिक्षण होइन, कडा प्रशिक्षण गरौ’ जसको परिणाम राम्रो होस् भन्ने उनको मान्यता रहेको छ । जसलाई अनुसरण गर्दै सार्दोको कुखुरा फार्म भित्र भट्भटी पोल्ने गर्मीमा पनि पसिनाले लखतरान नहुन्जेल उनी बक्सिंग प्रशिक्षणमा ब्यस्त हुन्थे । यसलाई उनले आफ्नो दिनचर्या बनाएका थिए ।

उनका आमा उनलाई चर्चको पादरी बनाउन चाहन्थे । तर जिविकोपार्जनका लागि बक्सिंग नै खेल्नु पर्छ भन्ने सिद्धान्तमा अडिग थिए मेनी । त्यसैले बक्सिंगमा पूर्ण समर्पित हुनका लागि थप मेहनत गर्नेतिर अग्रसर बनेका थिए उनी । त्यसैले सार्दो र उनी भीसीआर मार्फत् बक्सिंगका पुराना भिडियोहरु हेरेर त्यसबाट नयाँ कुरा सिक्ने प्रयासमा जुट्थे । त्यति मात्र होइन, कडा शारिरिक प्रशिक्षणसँगै उनी दिमागलाई पनि चुस्त पार्न चेस खेल्नुका साथै पियानो बजाउने देखि पुस्तक पढ्नेतिर समेत ध्यान केन्द्रित गर्थे ।

जीवन भनेको नै चुनौती हो र चुनौतीको सामना गर्नु परिपक्वता हो । बक्सिंगमा नै जीवन समर्पित गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि दैनिक जिविका चलाउन उनीमाथि परिवारलाई सघाउने अर्को महत्वपूर्ण जिम्मेवारी थियो । जसका कारण १४ वर्षको उमेरमा विधालय र घर छोडेर कामको खोजीमा उनले राजधानी मनिला जाने निधो गरेका थिए ।

तर छोरो टाढीने डरले उनकी आमाले उनलाई रोक्न खोजेका थिए । यता ढृढ़ संकल्प गरिसकेका मेनीले भने जसोतसो डूंगामा लुकेरै भएपनि मनिलाको यात्रालाई पूर्णता दिन्छ । जहाँ उनले कामका साथै आफ्नो बक्सिंग प्रशिक्षणलाई पनि निरन्तरता दिन्छन् ।

तर काम र प्रशिक्षणलाई समानान्तर रूपले लैजान मनीलाको बसाई उनको लागि सोचेजति सहज भने पक्कै भएन । टुटेको मन र एक्लो शरीरलाई बचाईराख्न मनिलाको सडकमा सुत्न बाध्य हुन्थे उनी । ज्यालादारीको काम अनि त्यसबाट पाएको पैसाले उनी जिम धाउंथे । उनी ब्यायामप्रति यति एकोहोरो बनेका थिए की कहिलेकाहीं जिम गर्दा गर्दै थाकेरै जिमखाना नै निदाउँथे ।

ट्रेनिंगबाट बचेको समयमा उनी डोनट्स बेच्ने देखि खिया लागेका फलामका सामग्रीहरु टल्काउने काममा खर्चन्थे । अनि कहिले माली बन्थे त कहिले घर बनाउने ज्यामी बन्न समेत उनी पछि पर्दैन्थे । खानाका लागि रेस्टूरेन्टहरुमा भांडा माभ्mथे । कठिन दैनिकीबाट गुज्रेपनि बक्सिंगलाई थांती लगाउने सोच उनको मनमा कहिल्यै आएन ।

बक्सिंगमा कडा मेहनत, कठिन मेहनत र मुश्किल मेहनत यी तीन कुरा धेरै महत्वपूर्ण हुन्छ । यो कुराको अनुसरण गर्दे उनले फिलिपिन्सको राष्ट्रिय बक्सिंग टोलीमा स्थान बनाउन सफल भएका थिए । त्यसपछि भने उनले ब्यवसायिक बक्सिंङलाई गन्तब्य बनाए । उनले हालसम्म ६९ मध्ये ६० बाउट्समा जित दर्ता गरेका छन् । तीमध्ये ३९ फाईट त उनले नकआउटको आधारमा जितेका छन् । फ्लाईवेट, सुपर बेन्टमवेट, फेदरवेट, सुपर फेदरवेट, लाइटवेट, लाइट वेल्टरवेट, वेल्टरवेट र लाईट मिडलवेट गरी कुल ८ डिभिजनका उनी च्याम्पियन बनिसकेका छन् ।

उनले मात्र १६ वर्षको उमेरमा ब्यवसायिक बक्सिंग करियरको सुरुवात गरेका हुन् । त्यति बेला उनको उँचाई मात्र ४ फिट ११ इन्च र वजन ९८ पाउण्ड थियो । बक्सिंग खेल्नका लागि उनले आफ्नो उमेर ढाँटेका थिए । त्यतिबेला हरेक फाइटबापत् उनले २ अमेरिकी डलर पारिश्रमिक पाउँथे ।

लामो समयको मेहनत र कठिनाइ पश्चात् पाउने सफलताको स्वाद निक्कै स्वादिलो हुने गर्छ । मेनी अहिले ब्यवसायिक बक्सिंग इतिहासकै एक उत्कृष्ट बक्सर बनेका छन् । अहिले एक फाइटबापत उनले ६० मिलियन अमेरिकी डलर सम्म आम्दानी गर्छन् । ब्यवसायिक बक्सिंङ इतिहासमा त सर्वाधिक आम्दानी गर्ने बक्सरमध्ये मेनीको नाम शीर्ष ५ भित्र अटाएको छ ।

हाल ब्यवसायिक बक्सिंगको शिखरमा रहे पनि मेनीले आफ्नो बाल्यकाल र करियरको सुरुवातमा भोगेका दुःखलाई भने बिर्सेका छैनन् । उनले बक्सिंग खेलेर आर्जेका पैसाले अस्पताल, विधालय र गरीबहरुको बासस्थान निर्माणका लागि फन्डमार्फत् रकम सहयोग गर्दै आएका छन् ।

घरबारबिहीन फिलिपिन्सका हजारौं बालबालिकालाई वासस्थानको ब्यवस्था लागि उनले रकम प्रदान गरेका छन् । उनले गरेको सहयोगका कारण उनी फिलिपिन्सको जनतामाझ मसिहाको रुपमा परिचित छन् । जसका कारण उनलाई राजनीतिमा प्रवेश गर्न समेत फिलिपिन्सका जनताले उत्प्रेरित गरेका थिए । यसैको परिणाम सन् २०१० को फिलिपिन्सको आमनिर्वाचनमा आफ्नो प्रान्तबाट विजयी हुँदै उनी सांसद समेत बनेका छन् ।

संसारमा यस्ता थुप्रै चर्चित ब्यक्तित्वहरु छन् जसले जीवनको सुरुवातका दिनहरुमा धेरै दुःखकष्ट भोगेका र सहेका छन् । अनि संघर्षसंग घोतित्दै एउटा सुन्दर आकारमा परिणत भएर सारा विश्वका लागि उदाहरणीय बनेका छन् । मेनी पनि तीमध्येका एक हुन् । मेनीको जीवन कुनै “परिको कथा“ भन्दा कम छैन । लक्ष्यप्रति केन्द्रित हुने बानी र निरन्तर कडा संघर्ष नै मेनीको सफलताको सूत्र हुन् । उनले आफ्नो सफलताको श्रेय हरेक त्यस्ता ब्यक्तिलाई दिएका छन् जसले उनलाई ’सक्दैन’ भन्ने शब्द प्रयोग गरेका थिए । मेनी आउँदो पिंढीका लागि पनि प्रेरणाको स्रोत समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्